काठमाडाैं, १२ बैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर बुधबार स्वदेश फर्किएका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभयो । कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ मङ्गलबार काठमाडौँ आइपुग्नु भएको थियो । कतारका राजा अमिरले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका थिए । भेटवार्तापछि राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गरेका थिए । यस्तै बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड र कतारका तर्फबाट अमिरसहितको प्रतिनिधिमण्डलबिच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबिच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ ।
नेपाल र कतारबिच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो ।