२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी लुम्बिनी सिद्धार्थनगरको स्थापना दिवसमा शक्ति गौचनसहित चारजना पुरस्कृत

शुक्रवार , बैशाख १४, २०८१

भैरहवा, १४  वैशाख ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । क्लबले भैरहवामा ‘चार्टर नाईट एण्ड अवार्ड सेरोमोनी’ गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले रचनात्मक कार्य गर्दै आएको बताए । उनले भने, ‘रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर रोटरी क्लब अफ बुटवलले जन्माएको पहिलो क्लब हो । म रोटरी क्लब अफ बुटवलको संस्थापक सदस्य तथा पूर्वअध्यक्ष हुँ । आज साँच्चै भन्ने हो भने म रोटरी लुम्बिनी सिद्धार्थनगरका संस्थापक अध्यक्ष भन्दा पनि धेरै खुसी छु । ’रोटरीले समाजको आवश्यकता अनुसार विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाइ थियो ।

त्यस्तै रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले क्लबले आयोजना गरेका विभिन्न कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका भण्डारीले आफूले अस्पतालमा अध्यक्षको जिम्मेवारी सम्हालिरहदा कोरोना महामारीमा विभिन्न दाता तथा संघ–संस्थाको सहयोगको ओइरो नै लागेको स्मरण गरे । उनले भने, ‘आर्थिक मन्दीले क्लब पनि मारमा परेको छ । त्यसका बाबजुद पनि क्लबले धेरै भन्दा धेरै सामाजिक कार्यहरुलाई अगाडी बढाएको छ ।’

कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्वअध्यक्ष खिम बहादुर कार्की, क्लबका संस्थापक अध्यक्ष अर्जुन विक्रम शाह, संस्थापक सदस्य डा. गोबिन्द वल्लभ भट्ट, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन) रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक देवी गुरुङको स्वागत, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका प्रेसिडेण्ट इलेक्ट ओम जैसीको धन्यवाद ज्ञापन तथा क्लबकी सचिव सरिता रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ सिद्धार्थनगरमा आबद्ध रही अनवरत रुपमा २८ वर्षदेखि संस्थापक सदस्यको रुपमा सक्रिय रहँदै क्लबले अघि सारेका सामाजिक कार्यहरु सम्पन्न सहयोग गरेको र ‘ज्ञानु गोविन्द रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर राष्ट्रिय प्रतिभा पुरस्कार’ स्थापना गर्न रु. २५ लाखको अक्षयकोष स्थापना गरेको भन्दै डा. गोविन्द वल्लभ भट्टलाई सम्मान गरिएको थियो । अक्षयकोषले समाजमा रहेका विभिन्न क्षेत्रका महिला प्रतिभाहरु लगायत राष्ट्रिय ख्याती प्राप्त प्रतिभाहरुलाई प्रोत्साहन गर्न आफ्नो सामाजिक उत्तरदायित्वसहित योगदान पुर्याएको भन्दै सामाजिक कार्यको उच्च मूल्यांकन गर्दै डा. भट्टलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

438100603_968306495302829_889626693988001357_n.jpg

त्यस्तै ‘ज्ञानु गोविन्द रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१’ बाट चारजनालाई विभिन्न विधामा पुरस्कृत गरिएको छ ।

नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनलाई रु.५१ हजार र कदरपत्रसहित खेलकुद पुरस्कार प्रदान गरिएको थियो । खेलकुद (क्रिकेट) क्षेत्रमा विशेष योगदान गरेको भन्दै गौचनलाई पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ ।

त्यसै गरी उच्च शिक्षा अध्ययनमा योगदान पुगोस् भन्ने उद्देश्यले छात्रवृत्तिसहित शिक्षाको कदर गर्दै द्वारिका धामीलाई नगद रु. २५ हजार र कदरपत्रसहित शिक्षा पुरस्कार तथा सामाजिक कुरीति, बालविवाहविरुद्ध अभियान चलाएको र किशोरीहरुलाई पुनः विद्यालय शिक्षामा जोड्न विशेष योगदान पुर्याएको भन्दै रचना लम्साललाई नगद रु. २५ हजार र कदरपत्रसहित शिक्षा विकास पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै सामाजिक कुरीतिविरुद्ध अभियान चलाएको र प्रौढ शिक्षामा विशेष योगदान पुर्याएको भन्दै खैरुन निशा सैयदलाई नगद रु. ५१ हजार र कदरपत्रसहित सामाजिक पुरस्कार प्रदान गरिएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्वअध्यक्ष तथा पुरस्कार मूल्यांकन तथा छनौट समिति संयोजक खिम बहादुर कार्कीले बताए ।

438097423_968315145301964_7508752285614582443_n.jpg

438119895_968307221969423_287854859539434411_n.jpg