
सोमवार , बैशाख १७, २०८१
भैरहवा । रुपन्देहीमा पछिल्लो एक हप्ता यता गर्मी अत्याधिक रुपमा बढेको छ । बिहानैदेखि चल्ने तातो हावासहितको गर्मीले जनजीवन निकै प्रभावित बनेको छ ।
रुपन्देही लगायत तराईका जिल्लामा तातो हावा चल्ने गरेको छ । भैरहवामा पछिल्लो एक हप्ता यता ४० देखि ४२ डिग्री तापक्रम कायम रहेको छ । जसले गर्दा बालबालिकादेखि वृद्धवृद्धा बढी मारमा परेका छन् ।
तातो हावाहुरी तथा अत्याधिक गर्मीले गर्दा मजदूरी गरेर जीविकोपार्जन गर्नेहरुको दिनचर्या प्रभावित बनेको छ । दिउँसोमा खेतीपाती गर्न सकिने अवस्था नरहेको र लामो समयदेखिको खडेरीका कारण किसान मारमा परेको तिलोत्तमा नगरपालिका–१५ का डोलराज बस्यालको भनाइ छ । गर्मीका कारण सडक सुनसान छन् ।
किसानहरुलाई तरकारी लगायतका अन्नबाली हुर्काउन मुस्किल परेको छ भने सिंचाईको अभावमा किसानले लगाएको तरकारी बालीलाई समेत जोगाउन हम्मेहम्मे परेको छ । लामो समयदेखि खडेरी परेसँगै रुपन्देहीको विभिन्न ठाउँमा आगलागीका घटना समेत बढेका छन् । रुपन्देहीका विभिन्न स्थानमा लागेको आगलागीबाट ८७ घर पूर्ण रुपमा क्षति पुगेको रुपन्देही प्रशाशनले जनाएको छ । ८७ घरपरिवारका ५ सय ४ जना घरबारबिहीन हुन पुगेका छन् ।
लामो समयदेखि पानी नपरेपछि वायूमण्डल दुषित भइ मानिसमा विभिन्न खालका समस्याहरु देखिएर बिरामीहरु अस्पतालमा आउने गरेका छन् । भैरहवास्थित भीम अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीका अनुसार गर्मी बढेसँगै अस्पतालमा रुघाखोकी, ज्वरो, झाडापखाला लगायत विभिन्न समस्या लिएर बिरामीहरु अस्पताल आउने गरेका छन् । अस्पतालहरुमा अहिले बिरामीको चाप बढेको छ ।
तातो हावा तथा तातो लहरले गर्दा अधिक थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर लाग्ने, बेहोस हुने जस्ता समस्याहरु देखिएको हुँदा सजक रहन चिकित्सकले आग्रह गरेका छन् ।
बिहान राखिएको हरियो ताजा साग, तरकारी तथा फलफूल साँझ पर्न नपाउँदै सुकेर खान समेत नमिल्ने गरी बिग्रने गरेको व्यवसायीको भनाइ छ । गर्मी बढेसँगै चिसो पेय पदार्थको विक्री भने बढेको छ । चोकचोकमा राखिएका जुस कर्नर तथा पसलहरुमा भिडभाड लाग्ने गरेको छ । चिकित्सहरु भने अत्याधिक गर्मी र तातो हावा चलेको समय बाहिर ननिस्कन आग्रह गरेका छन् भने झोलिलो पदार्थको प्रयोग गर्न आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij