
शनिवार , फाल्गुण ८, २०७७
बुटवल, ८ फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आसन्न साधारणसभा तथा अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ । संघको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशन यही फागुनको १० देखि १३ गतेसम्म संघको सचिवालय परिसर बालमन्दिरमा हुँदैछ ।
संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले साधारणसभामा प्रस्तुत गर्ने महासचिवको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा यस क्षेत्रका समसामयिक समस्या तथा सम्भावनाका सम्बन्धमा तयार गरिएको प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै साधारणसभाको लागि सदस्य उद्योगी व्यवसायी तथा अतिथिहरुलाई निमन्त्रणा पत्राचार गरिसकिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी दिए ।
साधारणसभा तथा अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्घाटन गर्नेछन् भने त्यसै अवसरमा संघले स्थापना गरेको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै उद्योगी व्यवसायीलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
२०१० साल फागुन १० गते स्थापना भएको बुटवल उद्योग वाणिज्य संघको सोही दिन स्थापना दिवस पनि परेको छ । संघको स्थापना दिवसको अवसरमा ९ र १० गते स्थापना दिवस विशेष कार्यक्रमको तयारी समेत गरिएको छ । स्थापना दिवसको अवसरमा भोली (आईतबार) बिहान संघको सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै पूर्वसंन्ध्यामा सांझ दीपावली कार्यक्रम गर्ने तयारी भएको महासचिव श्रेष्ठले बताए ।
स्थापना दिवसको अवसरमा गर्दै आएको एक जना पूर्वअध्यक्ष सम्मान यो वर्ष पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई प्रदान गर्न लागिएको छ भने बुटवल माध्यमिक विद्यालयलाई १० थान डेस्क बेन्च प्रदान गरिने उनले जानकारी दिए । स्थापना दिवसको अवसरमा प्रदान गरिने पूर्व अध्यक्ष सम्मान र बुटवल माध्यमिक विद्यालयलाई प्रदान गर्ने डेस्क बेन्च साधारणसभा विशेष कार्यक्रममा प्रदान गरिने उनले जानकारी दिए । त्यस्तै अधिवेशन अन्र्तगत निर्वाचनको तयारीको कामहरु समेत पुरा भएको निर्वाचन समितिले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij