
शुक्रवार , बैशाख २१, २०८१
भैरहवा, २१ वैशाख ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेलाई केपी ओलीले नर्कतिर लैजादै गरेको आरोप लगाएका छन् । उनले ओलीले जति सकिन्छ बल गरेर एमालेलाई नर्कतिर धकेल्दै लगेको बताए ।
नेकपा (एस) जिल्ला कमिटी, रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । उनले भने, ‘ओलीजी कसैलाई गन्ने मान्छे होइन । अहिले उहाँ थाक्नुभएको छ र आएर सँगै जाऔं भन्नुभएको छ । हामीले शंकाको सुविधा दिएका छौं एमालेलाई र अहिले हामी एउटै गठबन्धनमा छौं । ’कुनै दिन नेकपा एमाले र एसबीच तथा नेकपा (माओवादी केन्द्र) बीच एकता हुन सक्ने उनले बताए । उनले भने, ‘अहिले हेर्दा खेरी के देखिन्छ भने त्यहाँभित्र ओली गुट बलियो रहेसम्म एकताको कुनै सम्भावना छैन, देखिदैन । त्यो बेकार कुरा हो । ’
पूर्वमन्त्री समेत रहेका भुसालले ओलीले ध्वस्त पारेको आन्दोलनलाई कसरी उठाउन सकिन्छ भनेर प्रयत्न गरेको बेलामा ओलीको कुनै कुराले आफूहरुलाई प्रभावित नपार्ने दावी गरे । उनले भने, ‘अब जाने भनेको हिजो जे बिग्रदै थियो, त्यो बनाउने हो ।’ सिद्वान्त, विचार र तरिकाका हिसाबले नेकपा एमाले मृत जस्तो भएको उनको भनाइ छ । उनले भने, एक जना माथि ट्याउट्याउ बोल्नुहुन्छ, ओलीजी हुनुहुन्छ, अरु कोही बोल्दैन । एमालेमा कोही चल्दै चल्दैन ।’
नेता भुसालले एमालेमा माथिदेखि तलसम्म हिजौ आफूहरुले बनाएको छोेडेको संगठन भएको दावी गरे । नेपालको संसदमा सबैभन्दा शक्तिशाली केपी ओली भएको तर, शक्तिशाली प्रधानमन्त्री आफैले संसद भत्काएको उनले बताए । ‘कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो उपस्थिति भएको संसद उहाँले भत्काएपछि त्यसमा विचार हराउँदै गयो ।तर, पनि एमाले एउटा शक्ति हो, किनभने एमालेसँग संगठन छ, ’भुसालले भने । उनले मुलुकमा बेरोजगारी तथा धनी र गरीबबीचको खाडल अझ बढेको बताए । मुलुकका ५० लाख युवा विदेश गएर काम गर्नुपरेको परिस्थिति रहेको भुसालको भनाइ छ ।
नेपालको संविधानमा धेरै राम्रो अधिकार लेखिएको र अब मुलुकमा रोजगारी सिर्जना तथा सुशासन कायम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘एक वर्ष वरिपरी नेकपा (एस) कसैले हेप्न नसक्ने शक्ति र प्रमुख पार्टीको रुपमा अघि बढ्छ ।’
त्यस्तै पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हरि पराजुलीले एमालेलाई शक्तिशाली बनाउन विगतमा मिहिनेत गरे पनि पार्टीले वाचा पुरा नगरेपछि विद्रोह गरिएको बताए । उनले जनताको समस्या समाधान गर्नका लागि नै नेकपा (एस) पार्टी ल्याइएको दावी गरे ।
नेकपा (एस) लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेले विद्रोह कुनै रहरले नगरिएको बताए । उनले एमालेबाट विद्रोह गरेर संविधान बचाएको दावी गरे ।
पार्टीका केन्द्रीय सदस्य बाबुलाल यादवले देशको परिस्थिति अत्यन्तै जटिल भएको बताए ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका कार्यबाहक अध्यक्ष श्रीराम यादव, उपाध्यक्ष चिन बहादुर गुरुङ, सचिव टंक पौडेल, विजय लक्ष्मी रायलगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाललगायत विभिन्न पार्टी परित्याग गरी ३ सय बढी नेता–कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij