
शनिवार , फाल्गुण ८, २०७७
भैरहवा, ८ फागुन ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको तेस्रो क्याबिनेट मिटिङ्ग शनिबार भैरहवामा सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक गर्भनर शम्भु नकर्मीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
एरिया ४ को आयोजनामा तेस्रो क्याबिनेट सम्मेलन तथा अवार्ड वितरण कार्यक्रममा शनिबार लायन्सका अग्रज तथा सबैभन्दा बढी समाजसेवा गर्ने क्लबहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा लायन्स इन्टरनेशनल पूर्व डाइरेक्टर सजंय खेतानले लायन्सले नेपालमा शिक्षा, स्वास्थ्य, क्षेत्रमा निरन्तर काम गरेको बताए । कोभिड–१९ को समयमा एकैपटक १ करोड ४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सरकारलाई लायन्समार्फत सहयोग प्रदान भइसकेको बताए । नेपालबाट जम्मा भएको सदस्यता शुल्क भन्दा धेरै रकम नेपालमा प्रोजेक्टहरुमार्फत भित्रिएको उनले बताए । ‘यो सत्यतालाई सबैले बुझ्नुपर्छ, हामीले तिरेको ड्युज भन्दा दोब्बर रकम नेपालमा भित्रिएका छन्, लायन्समार्फत वर्षेनी नेपालमा स्ट्याण्डर्ड ग्राण्डहरु भित्रिएका छन् । लायन्समार्फत आएको बजेटले नेपाल धेरै उदाहरणीय कार्य भएका छन् । नेपालमा लायन्समा यतिबेला रिडिष्ट्रिकिङ हुँदैछ । यो पनि राम्रो पक्ष हो, ‘उनले भने । नेपालमा अझै संस्थालाई बलियो बनाउन सदस्यता वृद्धि गर्न आवश्यक रहेको र नेपालका चारवटै डिष्ट्रिक्टहरुबाट सदस्यता वृद्धि गर्नुपर्ने उनले बताए ।
त्यस्तै कार्यक्रममा एरिया लिडर खगेन्द्र सिटौला, मल्टिपल चेयरपर्सन इन्द्र खत्री, निवर्तमान गर्भनर अनुप पहारी, पूर्व गर्भनरहरु अरुण प्रताप राणा, डि.के ढुङ्गाना, महेन्द्र नारायण श्रेष्ठ, रमेश अग्रवाल, मधुसुधन शर्मा, फष्ट भिडिजी रामप्रसाद भट्ट, सेकेन्ड भिडिजी सि.बि चन्द लगायतले बोलेका थिए । तेस्रो क्यबिनेट मिटिङ्गबाट १ करोड ४३ लाख बराबरको यो बर्ष सेवा गर्ने बजेट पास भएको र आगामी कन्भेसन चैत्र २८ गते हेटौडामा हुने भएको छ । कार्यक्रममा २ हजार ६ सय जनाको सहभागिता रहेको एरिया ४ चिफ संदिप कसौधनले बताए । कार्यक्रममा क्याबिनेट मिटिङ हिरो अवार्डबाट संदिप कसौधनलाई गर्भनर शम्भु नकर्मीले सम्मान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij