भैरहवा, २६ वैशाख ।
भैरहवामा अपांगता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरिएको छ । श्री संजय साई सेवा अर्गनाईजेशन, नेपाल केन्द्रीय कार्यालय काठमाडौं अन्तर्गत श्री संजय साई सेवा समूह नेपाल रुपन्देही, भैरहवाले मंगलबार एक कार्यक्रमकाबीच ह्वील चेयर वितरण गरेको हो ।
कार्यक्रममा ९ वटा ह्वील चेयर र एउटा वैशाखी वितरण गरिएको समूहको रुपन्देहीका अध्यक्ष राजेन्द्र थापाले बताए । अपांगता भएका व्यक्तिहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वील चेयर वितरण गरिएको थापाले बताए । श्री संजय साई सेवा समूह नेपाल रुपन्देही, भैरहवाले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको उनले बताए ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले ह्वील चेयरले अपांगता भएका व्यक्तिहरुलाई केही न केही सहज हुने बताए । उनले भने, ‘श्री संजय साई सेवा समूह नेपाल रुपन्देही, भैरहवाले राम्रो काम गरेको छ । अपांगता भएका व्यक्तिहरुलाई प्रोत्साहन गर्नुपर्छ । आफ्नो कमाइको केही प्रतिशत सामाजिक कार्यमा लगाउन सके समाजको विकासमा टेवा पुग्छ । ’
नगरप्रमुख खानले सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने लक्ष्य रहेको भन्दै पर्यटकलाई आकर्षित र नगरलाई हराभरा बनाउन सके पर्यटकको बसाइ लम्ब्याउन सकिने धारणा राखे ।
नगर उपप्रमुख उमा अधिकारीले नाला, सडक बनाउनु मात्र विकास नभएको बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गर्नु सेवा भएको भन्दै यस्तो सेवामा समाजको ध्यान जानुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘राज्यबाट पाउनुपर्ने सम्पूर्ण सेवासुविधा अपांगता भएका व्यक्तिले पाउनुपर्छ ।’
सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले श्री संजय साई सेवा समूह नेपाल रुपन्देही, भैरहवाले पुनित कार्य गरेको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले श्री संजय साई सेवा समूह रुपन्देहीले सेवालाई प्राथमिकता दिदै आएको बताए ।
कार्यक्रम संयोजक विरेन्द्र ज्ञवालीले परोपकार जीवनको लक्ष्य भएको बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वील चेयर वितरण गरिएको बताए ।