बुटवल, २८ वैशाख ।
टाईटन जेट नेपाल यु–१४ टि ट्वान्टी च्याम्पियनसीपको उपाधि न्यू होराईजन माध्यमिक विद्यालयले जितेको छ । बिहीबार भएको फाईनल खेलमा बुद्ध पब्लिक स्कूललाई ३ विकेटले पराजित गर्दै न्युू होराईजनले उपाधि हात पारेको हो ।
उपाधिसँगै न्यू होराईजनले नगद २१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बुद्ध पब्लिकले नगद ११ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी बेष्ट्रनका बेष्ट बलर सुर्यान्स ज्ञवाली, बेष्ट ब्याट्सम्यान बुद्ध पब्लिका बिनय कार्की, प्लयेयर अफ दी सिरिज अरुण कुमार नाउ, शान्ति नमुनाका रिदम भट्टराई ईमेरजिङ प्लेयरबाट पुरस्कृत भए ।
नहरपुर माविको खेलमैदानमा भएको खेलमा टस जित्दै बुद्ध पब्लिकले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर ७८ रनको लक्ष्य खडा गरेको थियो । क्रिश केसीले नटआउट २६ बलमा १४, बिनय कार्की २३ बलमा २० रन बनाए ।
न्यू होराईजनका कृष्ण पन्थीले ४ तथा अरुण कुमार नाउले ३ विकेट लिए । झिनो लक्ष्य पछ्याएको न्यु होराईजनले १३ ओभरमा ७ विकेटको नोक्सानीमा भेटायो । न्यू होराईजनका सफल भट्टराईले १४ बलमा १६, अनिश भट्टराईले ३० बलमा २१ रन नटआउट तथा अमित यादवले ११ बलमा २३ रनको योगदान दिए । बुद्ध पब्लिकका रोशन कुवरले ३ विकेट लिए । खेलमा कृष्ण पन्थी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, निवर्तमान क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाण, पूर्व क्रिकेटर शक्ति गौचन, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष रोमित बज्राचार्यले विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलबाट प्रतिनिधित्व गर्ने खेलाडी भनेको यहाँको सेरोफेरोका धेरै जिल्लाको प्रतिनिधित्व गर्ने उनले बताए । विकासको मोडल खेलकुदलाई अघि बढाउन जरुरी रहेको उनले बताए । खेलकुद भनेको प्रतिष्पर्धाको विधा भएको भन्दै यसबाट आम नागरिकको जीवनलाई सिकाइको रुपमा रहेको उनले बताए । खेलाडीहरुलाई प्रोत्साहन हुने गरी कार्यक्रम अघि बढाउने उनले बताए ।
कार्यक्रममा लुम्बिनी क्रिकेट संघका अध्यक्ष संजय गुरुङले बुटवल क्रिकेट खेलाडी उत्पादनको खानी भएको बताए । बुटवलका खेलाडीहरु अभ्यासका लागि मैदान अभाव रहेको उनले बताए । बुटवल उपमहानगरपालिका क्रिकेट खेल मैदानमा जोड दिन आग्रह गर्दै उनले ६० यार्डको बाउण्ड्रीसहितको मैदानसम्म निर्माण गर्न सुझाव दिए ।
प्रतियोगिताका संयोजक विष्णु पाण्डेले एकेडेमीको स्थापनाकालमा भुवन पाण्डे, राहुल वि.क.बाट योगदान भएको बताए । ग्रासरुट खेल विकास र खेलाडी उत्पादन गर्न विभिन्न समयमा विशेष तालिम, प्रशिक्षण र प्रतियोगिताहरु गर्दै आएको उनले बताए । वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा वैशाख २० गतेदेखि सुरु भएको लिग चरणको प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको थियो ।