शुक्रवार , बैशाख २८, २०८१
बुटवल । नयाँगाउँ १२ बुटवलमा रहेको श्री स्वामीनारायण मुक्तिनाथ धाममा तीनदिने सरल पान्चायन पूजाविधि प्रशिक्षण सम्पन्न भएको छ ।
मुक्तिनाथ धामका पीठाधीश लोकानन्द महाराजको उपस्थितीमा श्री स्वामीनारायण मुक्तिनाथ नारीजगृति समूहको आयोजना एवं लुम्बिनी पूजासामग्री भण्डारको संयोजनमा तीनदिने सरल पान्चायन पूजाविधि प्रशिक्षण कार्यक्रम भएको हो ।
यही २५,२६ र २७ गते संचालित प्रशिक्षणमा मानव अधिकार महिला एकलसमूह, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधिलगायत २०० जना प्रशिक्षार्थी सहभागी थिए ।
नेपालको मौलिक धर्मसंस्कृति, परम्परा एवं शास्त्रीय विधानयुक्त सरल पाञ्चायतन पूजाको प्रयोगात्मक विधिसहित सञ्चालन गरिएको प्रशिक्षणमा ज्योतिष जनार्दन न्यौपानेले वास्तुअनुसारको पूजास्थल, पाञ्चायन देवताको स्थापना विधि, आचार्य पं कूरेश पाण्डेले पूजाविधि एवं मन्त्रोच्चारण, सुन्दर भण्डारीले मूर्तिहरूको प्रामाणिकता तथा पूजासामग्रीका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम समापन समारोहमा बोल्दै धामका पीठाधीश लोकानन्द महाराजजीको आशीर्वचनसँगै वडा नंं. १२ का वडाध्यक्ष्य डिल्लीप्रसाद शर्मा, धामका अध्यक्ष बाबुराम महत लगायतले मन्तव्य राख्दै यस कार्यक्रमले धर्मसंस्कृति एवं पूजाविधिका बारेमा उल्लेखनिय जानकारी प्राप्त भएको बताउदै यसप्रकारका प्रशिक्षणात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
स्वामीनारायण मुक्तिनाथ नारीजागृति समूहकी अध्यक्ष बिष्णु बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रम गौरी शर्माले सञ्चालन गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij