
शनिवार , बैशाख २९, २०८१
भैरहवा, २९ वैशाख ।
वीरगंज ब्लास्टर र लुम्बिनी लायन्स, भैरहवा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिगको सेमीफाइनलमा प्रवेश गरेका छन् । यी दुई टीम समूह ‘बी’ बाट शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा पुगेका हुन् । समूह ‘बी’ अन्तर्गत शनिबार भएको अन्तिम खेलमा वीरगंजले जनकपुरमाथि १ सय १३ रनको सानदार जीत निकाल्दै सेमीफाइनल पुग्दा लुम्बिनीलाई भने नेपालगंज वारियर्सले वाकओभर दिँदा सेमिफाइनल सहज भएको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको वीरगंजले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ७० रन बलियो योगफल बनायो । उसका लागि अभय रुंगटाले ४४, रौनक केएलले अविजित ४२, गौरव अग्रवालले २० तथा सुमित कडमिया र राजन केएलले १४–१४ रनको योगदान गरे । बलिङमा जनकपुर रोयल्सका रवि अग्रवाल, आषिश सराफ, प्रविण अग्रवाल र राहुल नहरले समान १–१ विकेट लिए ।
१ सय ७० रनको उच्च योगफल पछ्याएको जनकपुर १२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५७ रनमै समेटियो । उसका लागि आषिश सराफले १८ र प्रविण अग्रवालले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टीम फराकिलो अन्तरले पराजित भयो । जनपुरलाई सस्तैमा रोक्न बलिङमा वीरगंजका विनित लोहियाले ३.५ ओभरमा १८ रन खर्चेर ७ विकेट हात पारे । त्यस्तै अभय रुंगटाले २ विकेट लिए । खेलमा विनित लोहिया प्लेयर अफ द म्याच भए ।
नेपाल राष्ट्रिय मारबडी युवा संगठन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोज कुमार अग्रवालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij