
शनिवार , बैशाख २९, २०८१
भैरहवा, २९ वैशाख ।
लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) ले शनिबार आयोजना गरेको एक कार्यक्रममा ‘विकसित नेतृत्व र सूचना प्रविधि’ विषयक प्रशिक्षण (तालिम) प्रदान गरिएको थियो । प्रशिक्षार्थीहरुलाई आधुनिक सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको एलएसडीटीका ११३ औं श्रृंखलाको व्यवस्थापन समितिका संयोजक सदस्य हरिश सेठियाले बताए । सेठिया एलएसडीटीका संस्थापक सदस्य समेत हुन् ।
तालिममा विकसित नेतृत्व र सूचना प्रविधिको विषयमा कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पब्लिक इमेज चेयर राजकुमार गुप्ताले सहजीकरण गर्नुभएको कार्यक्रम संयोजक एवं व्यवसायी गोविन्द भण्डारीले जानकारी दिए । गुप्ता सूचना प्रविधिमा लामो अनुभव राख्छन् । तालिममा द नेक्स्ट एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक तथा शैक्षिक परामर्शदाता गोविन्द अधिकारी र सामाजिक अगुवा रीता थापाले विषयगत अन्तरक्रियामा सहभागी भएका थिए ।
तालिमको प्रारम्भमा एलएसडीटीका सहजकर्ता एवं अन्तर्राष्ट्रिय लायन्स डिष्ट्रिक ३२५ पी का वर्ष २०२४–२०२५ का एरिया चिफ अभिनव मयूर कसौधनले तालिमको महत्वबारे बताउँदै तालिमको सहजीकरण गरेका थिए ।
विद्यार्थी ऋसव विश्वकर्माको धन्यवाद ज्ञापन तथा व्यवसायी एवं उद्यमी लक्ष्मी जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ भैरहवाको एसियन बुद्ध होटलमा प्रत्येक हप्ताको शनिबार सञ्चालन हुँदै आएको छ । तालिममा सहभागी एवं प्रशिक्षार्थीहरुले स्वेच्छिक योगदान गर्छन् । तालिमको संस्थापक तथा प्रस्तोता विजय पाण्डे रहेको व्यवस्थापन समितिका सदस्य नितु थापाले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij