
आइतवार , बैशाख ३०, २०८१
भैरहवा, ३० वैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी नायव महानिरीक्षक बाहिनीपति (डीआईजी) अभि कुमार खत्रीले प्रहरीलाई नागरिकको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् । उनले नागरिकको कुनै पनि साथ र सहयोग नभए हाम्रो उपस्थिति अथवा हाम्रो कार्यसम्पादनले के अर्थ राख्ला भन्दै प्रश्न गरेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, रुपन्देहीको १७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित ‘स्थापना दिवस विशेष कार्यक्रम’ मा डीआईजी खत्रीले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी जनता (नागरिक) ले तिरेको करबाट संकलित राजस्व (उठेको रकम) बाट सेवा लिएर सेवा प्रदान गर्छौं । हामीले लगाउने पोशाक र हामीसँग भएका साधनस्रोत सम्पूर्णमा आम नागरिकको योगदान र लगानी छ । यस गणमा कार्यरत गणपति र सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई आग्रह गर्न चाहन्छु । यो कुरा यहाँहरुले गम्भिरताका साथ बुझ्नुहोला । ’
उनले यस गणबाट उत्कृष्ट कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।
उनले सबैको साथ सहयोगले यो गणले यहाँहरुले अपेक्षा अनुसार कार्यसम्पादन गरेको आफूहरुले महसुस गरेको बताए । उनले भने, ‘स्थानीयबासीको अपेक्षा अनुरुप कार्यसम्पादन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । आफ्नो कर्तव्यमा अनुशासित, लगनशील र मिहिनेतका साथ कार्य गर्ने उत्प्रेरणा प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु । ’ डीआईजी खत्रीले आगामी दिनमा पनि सबैको साथ, सहयोग र सहकार्यको अपेक्षा गरे ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सशस्त्र प्रहरी बलले दिन रात नभनी सीमाको रक्षाका लागि खटिएको भन्दै प्रशंसा गरे । उनले सशस्त्र प्रहरीलाई सरकारले साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए । नगरप्रमुख खानले भने, ‘नेपालमा मलको अभाव हुन्छ । यस्तो बेला किसानलाई मल ल्याउँदा सहयोग गर्नुपर्छ । किसानले खेती गर्न नपाए नेपालमा उत्पादन हुने नसके खानेकुरा नेपालबाहिरबाट आयात गर्नुपर्छ । ’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरे । उनले भने, ‘राज्यले यहाँहरुको उत्कृष्ट कार्यसम्पादन र भूमिकालाई सम्मान गरेको छ । यो संस्थाले आफूलाई अब्बल सावित गरेको छ ।’
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गणपति (एसपी) आनन्द थापा मगरले भने, ‘हाम्रो क्रियाशिलतामा आगामी दिनमा पनि कुनै कमी नआउने दृढता व्यक्त गर्दछौं । हामी आजको रात जागे भने मात्र नागरिक ढुक्कसँग सुत्न पाउँछन् भन्ने मान्यताका साथ अघि बढेको छौं । ’ उनले नागरिकमा आउने हासो र छाउने खुसी नै आफूहरुले अमूल्य सम्पत्तिको रुपमा लिएको बताए ।
सशस्त्र प्रहरी निरीक्षक दीपक लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा १७ औं स्थापना दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी खेलाडी (सशस्त्र प्रहरी कर्मचारी) हरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीलाई सम्मान गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले सम्पादन गर्ने विभिन्न कार्यहरु पूरा गर्ने क्रममा विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरी गण तथा मातहतका युनिटहरुको कार्यसम्पादनलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै गाउँपालिका अध्यक्षद्वयलाई सम्मान गरिएको थियो ।
त्यसै गरी उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार वितरण एवं शहीद परिवार तथा यो वर्ष गणबाट अवकाश प्राप्त हुने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij