२०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

आवतजावत सहज बनाउन माग

सोमवार , बैशाख ३१, २०८१

  • 835
    Shares
  • 835
    Shares
  • भैरहवा, ३१ वैशाख ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित बसडिलवाको पुर्वतर्फ ३० वर्ष अघिदेखि नगरपालिकाबाट घर नक्सा स्वीकृत बनाइ घर निर्माण गरी बसोबास गरिरहेको भन्दै उक्त स्थानमा बाटो बन्द गर्न नहुने स्थानीयबासीले माग गरेका छन् । उनीहरुले सोमबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानलाई बाटो निकासको माग गर्दै निवेदन बुझाएका छन् । 

    हाल उक्त स्थानमा नगरपालिकाबाट नाली, खानेपानीलगायतका संरचनामा लगानी गरी बाटो ग्राभेल गरेको सडकमा हिंडिरहेको बेला अहिले मन्दिर समितिले मन्दिर संरक्षणको नाममा विकास रोकी बाटो गर्ने भन्ने कुरा सुन्नमा आएको स्थानीयबासीको भनाइ छ ।

    उक्त बाटो बन्द नगर्दा मन्दिरलाई के घाटा, जनताको आवातजावत रोक्दा कति फाइदा हुन्छ ? सार्वजनिक सम्पत्तिको उपयोग र उपभोग गर्दा सबै पक्षलाई भलो हुन जरुरी महसुस गरिएको स्थानीय तारापति भण्डारीले बताए । 

    ‘तारापति भण्डारीको घरदेखि उत्तर प्रख्यात बन्जाडेको घरसम्मका सयौं जनताले उक्त बाटो प्रत्यक्ष रुपमा प्रयोग गरिरहेको र अन्य मानिसहरु पनि आवातजावत गरिरहेका छौं । जनताको बसोबास भएपछि सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वद्र्धन हुने हुँदा सार्वजनिक स्थानमा आवातजावत गर्नै नदिने गरी बाटो बन्द गर्न लागिएकाले भइरहेको बाटोपश्चात कायम राखी बाटो बन्द गर्ने कार्यलाई रोकी २० फिट बाटो कायम गरी पाउन यो निवेदन ल्याएका छौं, ’निवेदनमा उल्लेख छ ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले यसबारे सत्यतथ्य बुझेर रिपोर्ट पेश गर्न प्रमुख प्रशासकीय अधिकृतलाई तोक लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यसबारे थप बुझ्ने बताए ।

    यता बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर) समितिका अध्यक्ष पशुपति न्यौपानेले नेपाल सरकारको नाममा रहेको जग्गा मन्दिर समितिले शंरक्षण गरेको बताए । उनले सम्बन्धित निकायबाट सडकका लागि छाड्ने आदेश आए आफूहरुले छाड्ने उल्लेख गरे । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व सबैको भएको भन्दै उनले लुम्बिनी प्रदेश सरकारको बजेटबाट पर्खाल बनाउन लागिएको बताए ।