२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरका स्वास्थ्य संस्थामा अनुगमन

मंगलवार , जेठ १, २०८१

भैरहवा, १ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ । नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक उमा अधिकारीको नेतृत्वमा सोमबार औषधी पसल, क्लिनिक तथा अस्पतालहरुको अनुगमन गरिएको हो ।

स्वास्थ्य संस्थाबारे गुनासो आएपछि अनुगमन गरिएको अधिकारीले बताइन् । उनले भनिन्, ‘स्वास्थ्य संवेदनशील विषय हो । स्वास्थ्यसँग खेलवाड गर्न पाइँदैन । स्वास्थ्य संस्था नै दर्ता नगरी सञ्चालन भएको पाइएको छ । हामीले कुनै पनि संस्था बन्द गराउन खोजेका होइनौ । मापदण्ड अनुसार सञ्चालन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । ’उनले अनुगमनका क्रममा औषधी पसलमा म्याद नाघेको औषधी राखिएकोे, दर्ता नभएका जस्ता कमीकमजोरी पाइएको जानकारी दिइन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तथा अनुगमन समिति सदस्य पुरन प्रसाद श्रेष्ठले विगतमा पनि स्वास्थ्य संस्थामा अनुगमन गरिएको बताए । उनले अनुगमनका क्रममा केही स्वास्थ्य संस्थाहरु कहीकतैबाट स्वीकृति नलिइ सञ्चालन भएको र म्याद गुज्रिएका औषधी राखिएको फेला परेको बताए ।

सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता देवी न्यौपाने पोखरेलले स्वास्थ्य संस्थाहरुबारे गुनासो र उजुरी आएपछि अनुगमन गरिएको बताइन् । उनले अनुगमन गर्ने क्रममा फार्मेसीमा ल्याबको कर्मचारी बसेको, औषधी पसलमा खाद्यान्न सामग्री राखिएको, म्याद नाघेको औषधी राखिएको र दर्तासम्बन्धि कुनै कागजात नभेटिएको बताइन् ।

जनस्वास्थ्य निरीक्षक विजय नाथ चौधरीले अनुगमन गरिएका स्वास्थ्य संस्थामध्ये दर्ता नभएकालाई सम्बन्धित निकायमा दर्ता गर्न भनिएको बताए । उनले भने, ‘दर्ता नभएका स्वास्थ्य संस्थालाई दर्ता नगरेसम्म सञ्चालन नगर्न भनी पत्र पठाएका छौं । पहिलो मापदण्ड भनेकै दर्ता हो । केही स्वास्थ्य संस्था दर्ताको प्रक्रियामा पनि रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले पनि स्वास्थ्य संस्था दर्ता गर्न सूचना जारी गरेको छ । ’अनुगमन कार्यलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

IMG_9109.JPG