
बुधवार , जेठ २, २०८१
भैरहवा, २ जेठ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ६० औं स्थापना दिवसको अवसरमा अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले दीप प्रज्जवलन गरेको छ । मंगलबार साँझ भैरहवास्थित बुद्धचोकमा दीप प्रज्जवलन गरिएको अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष के.एल. पाण्डेले बताए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरीले विद्यार्थीहरुको प्रिय संगठन अनेरास्ववियुको ६० औं स्थापना दिवस एवं विद्यार्थी एकता दिवसको अवसरमा दीप प्रज्जवलन गरिएको बताए । सिद्धार्थनगर नगरपालिका–१२ का पूर्व वडा सदस्य समेत रहेका ठकुरीले मुलुकमा भएको विभिन्न परिवर्तनको अनेरास्ववियुले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे ।
प्रमुख वक्ता नेकपा (एमाले) सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले २०२२ साल जेठ १ गते स्थापना भएको अनेरास्ववियुले विद्यार्थीको हकहितमा काम गर्दै आएको बताए । उनले विद्यार्थीले रचनात्मक काम गर्नुपर्नेमा जोड दिए ।
अनेरास्ववियु सिद्धार्थनगरका कोषाध्यक्ष कमल घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा लोकतान्त्रिक आदिवासी महासंघका केन्द्रिय सदस्य उमेश थापा लाटोमगर, एमाले नगर कमिटी सचिवालय सदस्य नर्जुन गुरुङ, नगर सदस्यहरु कमल पोख्रेल, श्याम पाठक, अनेरास्ववियु जिल्ला कोषाध्यक्ष सुनिल खनाल, सह–सचिव मनिषा कार्की, जिल्ला सदस्यहरू दिक्षा कुवर, आशिष पन्त, गौरव पोख्रेल, भैरहवा बहुमुखी क्याम्पस कमिटी कार्यवाहक अध्यक्ष नवराज सिंह ,सचिव प्रशंसा भण्डारी, पक्लिहवा कृषि क्याम्पसका सचिव प्रज्वल थापा, पवन न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij