२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बालकृष्ण भट्टराईको निधनले अपूरणीय क्षति पुग्यो : पूर्वमुख्यमन्त्री गिरी

बुधवार , जेठ २, २०८१

भैरहवा, २ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य बालकृष्ण भट्टराईको निधनले पार्टीसँगै समाजलाई अपूरणीय क्षति पुगेको बताएका छन् । एमाले जिल्ला कमिटी, रुपन्देहीले बुधबार सिद्धार्थनगर नगरपालिका–१२ आवारोडस्थित स्वर्गीय भट्टराईको निवासमा आयोजना गरेको श्रद्धाञ्जली सभामा गिरीले यस्तो बताएका हुन् ।

‘बालकृष्ण भट्टराईको निधनले उहाँको परिवार मात्र नभइ पार्टी र समाजलाई ठूलो क्षति पुगेको छ । पार्टीले त्यो हिसाबले महसुस गरेको छ । बौद्धिक क्षेत्रमा उहाँको लगाव, मिहिनेत र भूमिकाहरुलाई सम्झिदा कमरेड धनपति उपाध्यायलाई पनि हामीले सम्झनुपर्छ, ’उनले भने ।’

पार्टीको अभियानलाई अगाडि बढाइरहदा र पार्टीलाई संगठित गरिरहदा आफूहरुलाई एकदमै नजिकबाट सहयोग गर्ने व्यक्तित्व भट्टराई रहनुभएको गिरीले बताए ।‘बौद्धिक, साहित्यिक, सामाजिक क्षेत्रमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा पार्टीलाई परेका अफ्ठयारा र बाहिरी हस्तक्षेपको बारेमा सहयोग माग्दा अत्यन्तै चनाखो र बौद्धिक तरिकाले ट्याकल गर्ने व्यक्तित्व बालकृष्ण भट्टराई हुनुहुन्थ्यो, ’उनले भने । 

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले स्व. बालकृष्ण भट्टराईको योगदानको बारेमा जति चर्चा र वर्णन गरे पनि कमै हुने बताए । उनले रुपन्देहीको कम्युनिष्ट आन्दोलनलाई स्व. भट्टराईले पुर्याउनुभएको योगदानको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गरे । उहाँका अधुरा सपना पूरा गर्ने प्रतिवद्धता जाहेर गर्दछौं, ’के.सी.ले भने ।

IMG_9264.JPG

रुपन्देहीको कम्युनिष्ट आन्दोलन, एमालेको संगठन विस्तार र पार्टीको लागि सधै इमान्दारितापूर्वक काम गरेका भट्टराईको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको एमाले रुपन्देही जिल्ला सचिव यज्ञ गैरेले बताए ।

IMG_9251.JPG

भैरहवा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत रहेका बालकृष्ण भट्टराईको गत वैशाख २५ गते मंगलबार ८० वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।