
बुधवार , जेठ २, २०८१
परासी, २ जेठ ।
पश्चिम नवलपरासीको रामग्राममा नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । समुदायमा नसर्ने रोग मूख्य स्वास्थ्य समस्याको रुपमा देखिन थालेपछि रामग्राम जेसीजले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
रामग्राम जेसीजले रामग्राम नगरपालिका–४ स्थित हिलेरीयस चिल्डे«न एकेडेमी बैरिहवाका विद्यार्थीहरुलाई नसर्ने रोग र यसबाट बच्ने उपायका बारेमा सचेतना प्रदान गरेको हो । समाजमा सर्ने भन्दा नसर्ने रोगका बिरामी धेरै भए पनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गर्ने र अन्तिम अवस्थामा पुगेपछि मात्र उपचारमा जाने गरेको पाइएकोले समयमै सचेत बनाउन विद्यार्थीमार्फत समुदायलाई सचेत गराइएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले बताए ।
जनचेतनाको अभाव र कतिपय अवस्थामा स्वास्थ्य सेवाको पहुँच नपुग्दा पनि नसर्ने रोग लागेको थाहा नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्थामा समाजमा भयावह रहेकोले नसर्ने रोगबाट बच्न रहनसहजन, खानपान र जीवनशैलीमा सुधार ल्याउनका लागि सचेतना अभियान प्रभावकारी हुने अपेक्षा गरिएको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीेले समुदायमा नसर्ने रोग जटिल रुपमा बढिरहेको उल्लेख गरिन् । पछिल्लो पुस्तामा खानपान, रहनसहन, जीवनशैली फेरिँदै जाँदा सुगर, प्रेसर, क्यान्सर लगायतका नसर्ने रोग बढ्दै गएको भन्दै उपप्रमुख चौधरीले जीवनशैली, रहनसहन र खानपानमा विशेष ध्यान दिन जरुरी रहेकोमा जोड दिईन् । रामग्राम जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै समाज रुपान्तरणका लागि यस किसिमका सचेतना कार्यक्रम मार्फत महत्वपूर्ण योगदान गरिरहेको भन्दै उपमेयर चौधरीले प्रशंसा गरिन् ।
उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयका वरिष्ठ मेलरिया निरीक्षक देवीलाल पौडेलले नसर्ने रोेगका प्रकार, लक्षण, बच्ने उपाय, रोग लाग्नु भन्दा पहिले नै अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रशिक्षण दिएका थिए । मानिसहरुले हेल्चक्रयाईँले गर्दा जटिल रोग लाग्ने गरेको भन्दै उनले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे ।
रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरी, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य अर्जुन बहादुर क्षेत्री, विद्यालयका प्रिन्सिपल जनार्दन ठाकुर, रामग्राम जेसीजका कार्यकारिणी उपाध्यक्ष सुनील कुमार यादव, कानूनी सल्लाहकार विष्णुराज राव, खेलकुद निर्देशक एवं कार्यक्रम संयोजक मनिष गुप्ता लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij