२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सबै ठाउँमा चुनाव नलड्दा कांग्रेसको मत घट्यो : डा. मिनेन्द्र रिजाल

शुक्रवार , जेठ ४, २०८१

भैरहवा, ४  जेठ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सबै ठाउँमा चुनाव नलड्दा कांग्रेसको मत घटेको दावी गरेका छन् । उनले हरेक वडामा मात्र नभइ टोलमा भएको कांग्रेस विभिन्न ठाउँमा चुनाव नलडे पार्टी निर्माण हुन नसक्ने बताए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा. रिजालले यस्तो बताएका हुन् । उनले भने, ‘कांग्रेस हिजो एक्लै उभिदा पार्टीको बढी मत र धेरै सिट रहेको थियो । ’

उनले केन्द्रीय सत्ता चाहिन्छ भनेर ६ हजार ७ सय ४३ वडामध्ये २ हजार ७ सय वडामा कांग्रेस नलड्ने हो भने पार्टी निर्माण र मत कसरी बढ्ने भन्दै प्रश्न गरे । उनले आफूहरुलाई सन्देश दिन र सचेत गराउन जनताले नयाँ पार्टीलाई मत दिएकाले अब सचेत हुनुपर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका रिजालले आफू माथि फर्केर गाली गर्ने पक्षमा नरहेको बताए । उनले भने, ‘मसँग गाली गर्ने आधार छ । तर, गाली गरेर कांग्रेस बन्दैन । ’

चुनाव अघि गठबन्धन गर्दा कांग्रेसको मत घटेको उनले बताए । कांग्रेसकै नेतृत्वमा मुलुकमा धेरै परिवर्तन भएको उनको भनाइ थियो ।

नेपाल दुई ठूला देश भारत र चीनबीच रहे पनि अपेक्षाकृत फाइदा लिन नसकेको उनले बताए । 

त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सदस्य राजीव विक्रम शाहले लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिहरु व्यक्तिको पछाडी नभइ सिस्टम र अनुशासनका पछि लाग्ने बताए । उनले आफूहरु देश निर्माणमा लागेको दावी गरे ।

कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको भन्दै विमानस्थल सञ्चालन हुनुपर्ने माग गरे ।

लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले देशलाई निकास दिने पार्टी कांग्रेस नै भएको दावी गरे ।

संविधानसभा सदस्य जन्नतुन निशाले कांग्रेस बिना देश चल्न नसक्ने बताइन् ।

कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्र जंग थापाको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसियशन लुम्बिनी प्रदेश सभापति शैलेन्द्र प्रसाद श्रेष्ठ, कांग्रेस क्षेत्र नम्बर ३ का सह-सचिव कुल प्रसाद न्यौपाने, क्षेत्रीय प्रतिनिधि तथा नेपाल तरुण दल सिद्धार्थनगरका उपसभापति टिका जि.सी., कांग्रेस सिद्धार्थनगर–९ का सभापति श्याम खनाल लगायतले बोलेका थिए ।