
शनिवार , जेठ ५, २०८१
भैरहवा, ५ जेठ ।
रुपन्देहीको भैरहवामा ८ वर्षदेखि १२ वर्षका बालबालिकालाई लक्षित गरी शनिबार एकदिवसीय आनापान ध्यानको आयोजना गरिएको छ । आनापान विपश्यना ध्यानको प्रारम्भिक चरण भएको आनापान ध्यानका एक शिक्षकले बताए । धम्म जननी लुम्बिनीको आयोजनामा विभिन्न विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीहरु ध्यान कार्यक्रममा सहभागी भएको कार्यक्रम संयोजन समितिका सदस्य तथा विपस्वी साधक लिलामणि पाण्डेले बताए ।
लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) मा आबद्ध बाल मंचका विद्यार्थीहरुको स्वभावमा थप स्थिरता र धैर्यताको विकास गर्दै पढाइमा थप रुची जागृत गराउन र बालबालिकामा अझै सकारात्मक व्यवहार बढ्दै जाओस् भन्नका लागि ध्यान कार्यक्रमको आयोजना गरिएको पाण्डेले बताए ।
ध्यान कार्यक्रम सिद्धार्थनगर नगरपालिका–४ दोगहरास्थित पुगता जेतावन विहारमा आयोजना गरिएको थियो । यस पुगता भुमि जेतवन विहारमा भगवान बुद्धको खोज विपश्यना सम्बन्धि ध्यान साधना भएकोमा बिहारका व्यवस्थापन सदस्य मनोज उपाध्यायले खुशी व्यक्त गरे । उनले भने, ‘यस विहारमा ध्यान हुनाले यसको महत्व बढेको छ ।
आयोजक लुम्बिनी धम्म जननी परिवार र संयोजन गर्ने लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ परिवारलाइ साधुवाद भन्छु ।’ अगाडिका दिनमा पनि विहारमा ध्यान साधनालाइ नियमित गर्न विहार इच्छुक भएको उनले बताए । आगामी जेठ १९ गते १३ वर्षदेखि १७ वर्षसम्मका बालबालिका निम्ति लक्षित गरी कार्यक्रम हुने संयोजनकर्ताले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij