२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशमा मल कारखाना सञ्चालन गर्नुपर्छ : पूर्वमन्त्री गुप्ता

आइतवार , जेठ ६, २०८१

भैरहवा, ६ जेठ ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.)ले लुम्बिनी प्रदेशमा रासायनिक मल कारखाना स्थापना गरी सञ्चालन गर्नुपर्ने बताएका छन्। उनले मल कारखाना सञ्चालन गर्न सकिए भोलीका दिनमा लुम्बिनी प्रदेशमा मात्र नभइ देशकै किसानहरुलाई समयमै मल उपलब्ध गराउन सकिने बताए ।

आइतबार लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पाँचौ बैठकमा बोल्दै सांसद् गुप्ताले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको समयमा किसान सबैभन्दा बढी पीडामा छन् । म भन्न चाहन्छु आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गर्नुपर्छ ।’ तराई क्षेत्रमा मलखादसँगै सिंचाईको समेत समस्या रहेको उनको भनाइ छ ।

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका गुप्ताले बजेटमा कृषि, स्वास्थ्य र रोजगारी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे । उनले विदेश पलायन हुने युवाहरुको संख्या बढेकाले युवाहरुलाई कसरी रोजगारी सिर्जना गर्न सकिन्छ त्यसका निम्ति सरकारले राम्रो योजना ल्याउने विश्वास व्यक्त गरे । 

उनले गत महिना रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकासहित विभिन्न स्थानमा भएको आगलागीबाट सवारीसाधन, खाद्यान्न सामग्री तथा घरमा क्षति पुगेकाले आगलागी पीडितलाई छिटो भन्दा छिटो उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

पूर्वमन्त्री गुप्ताले शिक्षा क्षेत्रमा अत्यन्तै थोरै बजेट रहेकोले शिक्षामा बढी बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘सत्ता पक्ष वा प्रतिपक्षमा रहे पनि हामी यहाँ जनताको सेवा गर्नका लागि आएका छौं । यो सरकारले राम्रा योजनाहरु ल्याउँछ भन्नेमा विश्वस्त छौं ।’