२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

किशोरीहरुका लागि एकमहिने आत्मरक्षा तालिम सकियो

मंगलवार , जेठ ८, २०८१

भैरहवा, ८ जेठ ।
रुपन्देहीको भैरहवामा किशोरीहरुका लागि सञ्चालित एकमहिने आत्मरक्षा तालिम मंगलबार समापन भएको छ । गत वैशाख ७ गते सुरु भएको तालिम सिद्धार्थनगर नगरपालिका अन्तर्गत १० वटा सामूदायिक विद्यालयमा भएको हो ।

सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सगरमाथा क्लब सिद्धार्थनगर, रुपन्देहीको व्यवस्थापनमा भएको तालिममा १० वटा विद्यालयका १ हजार बढी विद्यार्थीहरु सहभागी भएको क्लबका सचिव दीपक न्यौपानेले बताए । 

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले आफू नगर उपप्रमुखको जिम्मेवारीमा हुन अगावै यो तालिम सुरु गर्नुपर्छ भन्ने माग राखेको स्मरण गरिन् । उनले भनिन्, ‘तालिम व्यवस्थापन गर्ने सम्पूर्ण टीमलाई धन्यवाद । यहाँहरुको साथ, सहयोगले तालिम सफलतापूर्वक सम्पन्न भएको छ । नगर उपप्रमुख अधिकारीले तालिमको अवधि भन्दा पनि तालिममा कुन रुपमा सहभागी भइयो भन्ने कुरा महत्वपूर्ण रहेको बताइन् । उनले भनिन्, तालिमको महत्व बुझ्यो भने दुई दिन पनि काफी हुन्छ । किशोरीमा आत्मविश्वास बढाउनु तालिमको मुख्य उद्देश्य हो ।’

त्यस्तै भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एकनारायण अर्याल (विष्णु) ले तालिममा धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहभागी गराउन शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक रुप कुमार क्षेत्रीले आगामी दिनमा कम्तीमा तीन महिना तालिम सञ्चालन गर्न आग्रह गरे । उनले खेलकुदले शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने बताए ।

श्री विन्ध्यवासिनी मिसुजु आधारभूत विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मीले तालिम अर्थपूर्ण रहेको बताए । उनले भने, ‘तालिमले किशोरीहरुको साहस, हिम्मत बढेको छ । अनुशासित बनाएको छ ।’

तलिममा सहभागीमध्ये श्री रुपन्देही लिलाराम न्यौपाने कक्षा १० मा अध्ययनरत छात्रा सरस्वती ढाडीले आत्मरक्षा तालिम समयको माग भएको बताइन् ।

कार्यक्रममा सबैभन्दा धेरै विद्यार्थीहरु सहभागी गराएको भन्दै उत्कृष्ट विद्यालयको रुपमा लिलाराम न्यौपाने माविलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रशिक्षकहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । सोही कार्यक्रममा श्री महात्मा बुद्ध माविका विद्यार्थीहरुले आफूले सिकेका कुराहरुबारे डेमो प्रस्तुती गरेका थिए । त्यसै गरी अनुशासित विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

सगरमाथा क्लब भैरहवाका अध्यक्ष अर्जुन क्षेत्रीको अध्यक्षता, कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष सुनिल चौधरीको स्वागत तथा सदस्य दीपक शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।