
बुधवार , जेठ ९, २०८१
बुटवल, ९ जेठ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले स्वस्थ जीवनयापनका लागि आहारविहार तथा महिला र किशोरीहरुका लागि आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको रजत जयन्तीका अवसरमा मंगलबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालले उद्द्दाटन गरे । सोही अवसरमा बोल्दै उनले सहकारी संस्थालाई सबल र सक्षम बनाउन सहकारीको ऐन नियमलार्ई कडाइका साथ पालना गराउनुपर्ने बताए । अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको खनालले बताए । पछिल्लो समय प्रदेश र केन्द्रमा दर्ता भइ सञ्चालनमा रहेका केही सहकारी संस्थाले बदमासी गरेको बताउँदै उनले बुटवलमा दर्ता भएका सहकारी संस्थामा समस्या नरहेको दावी गरे । सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने खनालले बताए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक आयूर्वेदिक अस्पतालका डा. प्रवेश श्रीवास्तवले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर जस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा जानकारी गराएका थिए । निष्कृय जीवनशैलीले विभिन्न रोग निम्त्याउने भन्दै स्वस्थ जीवन बिताउन सचेतना जरुरी रहेको उनले बताए ।
डा. श्रीवास्तवले कस्तो खाना खाने ? कति खाने ? सुत्ने उठ्ने सही समय, आवश्यक शारीरिक व्यायाम, सकारात्मक सोचबारे सहभागीहरुले जानकारी गराएका थिए । स्वस्थ रहनका लागि फास्टफूडबाट टाढा रहन सुझाव दिँदै सन्तुलित र पोषिलो भोजनमा ध्यान दिन उनले आग्रह गरे ।
त्यस्तै नगर प्रहरी कार्यालय योगीकुटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विमला गौतम र प्रहरी जवान पुनम खड्काले आत्मरक्षासम्बन्धी सैद्वान्तिक र प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिएका थिए । पछिल्लो समय देशमा महिला तथा बालबालिकाहरुमाथि बढ्दै गइरहेको विभिन्न प्रकृतिका हिंसाहरुको न्यूनीकरणका लागि यस्ता तालिम महत्वपूर्ण हुने प्रहरी सहायक निरीक्षक गौतमले बताइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले स्वस्थ जीवनयापन र किशोरी तथा महिलामाथि हुन सक्ने सम्भावित हिंसा तथा दुर्ववहारविरुद्ध प्रतिकार गर्न सकुन भनेर प्रशिक्षण सञ्चालन गरिएको बताए । सिकेको ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिए ।
कार्यक्रममा सहभागी बसुन्धरा भुसाल, मिनप्रसाद न्यौपाने लगायतले बोल्दै जीवनशैली व्यवस्थित बनाउन लाग्ने प्रतिबद्धता जनाए । संस्थाले रजत जयन्तीका अवसरमा बुटवल–७ स्थित सुस्त मनस्थिति बाल विद्या मन्दिरलाई शुद्ध खानेपानीका लागि डिस्पेन्सर मेशीन हस्तान्तरण गरेको व्यवस्थापक सरस्वती पाण्डे न्यौपानेले बताइन् ।
त्यस्तै बुधबार (आज) संस्थाको कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम संस्थाका उपाध्यक्ष युवराज अंगाईको स्वागत तथा सचिव कल्पना थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij