
बुधवार , जेठ ९, २०८१
बुटवल, ९ जेठ ।
रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको भन्दै सरोकारवाला निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले मंगलबार रुपन्देहीको बुटवलमा आयोजना गरेको कार्यक्रममा रुपन्देहीमा विद्युतीय अपराध र मानव अधिकारको अवस्था विषयक साक्षात्कारमा बोल्ने सरोकारवाला निकायहरुले यस्तो गुनासो गरेका हुन् ।
पछिल्लो समय जिल्लामा सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न खालका अपराधहरु बढ्दै गएको र जसमा बालबालिका र महिलाहरु बढी पीडित बन्न पुगेको उनीहरुको भनाइ छ । मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष गोविन्द खनालले नेपालको संविधानले मानव अधिकारलाई सुनिश्चित गरेता पनि कार्यान्वयन पक्ष फितलो भएको बताए । उनले कार्यान्वयन पक्षलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकाय संवेदनशील हुनुपर्नेमा जोड दिए ।
‘संविधानमा लिपिबद्ध रहेका कुराहरुलाई अक्षरसलाई कार्यान्वयनमा के कसरी व्यवहारिक रुपमा लगिएको छ । त्यो हेर्नुपर्छ । नेपालमा मानव अधिकारको अवस्थालाई हेर्ने हो भने निकै कमजोर छ । सामाजिक न्यायको अवस्था, बालबालिकाको अवस्था र महिला सम्बन्धि यौनजन्य अपराधलाई निरुत्साहित गर्न सम्बन्धित निकायहरु प्रभावकारी नभएको जस्तो देखिएको छ, ’उनले भने ।
खनालले भने, ‘महिला हिंसा विगतको भन्दा हाल केही घटेको छ तर सन्तोषजनक छैन् । ’अपराध गर्नेहरुले नयाँ प्रविधि अपनाएर अपराध गर्दै आएकाले प्रहरी पनि प्रविधिको ज्ञानमा अब्बल हुनुपर्ने उनले सुझाए ।
उच्च अदालत बार एशोशियन बुटवलका पूर्वअध्यक्ष जोखबहादुर खत्रीले पछिल्लो समय विद्युतीय अपराधका घटनाहरु बढ्दै गएको बताए । साइबर क्राइमले समाजमा विभिन्न खालका आर्थिक, यौन शोषण र मानव बेचबिखन जस्ता अपराधबाट समाज र महिलाहरु त्यसको पीडित बन्न पुगेकाले संविधानमा उल्लेख गरिएको विद्युतीय कारोबार सम्बन्धि कानूनलाई कडाइका साथ लागू गरी यस्ता घटनामा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले हिजो भौतिक रुपमा हुने अपराध आज विद्युतीय मार्फत् हुने भएकाले अपराधको अवस्था बदलिएको बताए । उनले भने, ‘यसको नियन्त्रणका लागि प्रहरी संगठनभित्र हामी पनि प्रविधिको ज्ञानमा सशक्त हुनुपर्छ ।’
प्रहरीले उजुरी लिएन भन्ने गुनासोमा उनले भने घटनाको प्रकृति र आवश्यक प्रमाण नभएको घटनामा सोही प्रकारको सल्लाह दिने र प्रहरीको क्षेत्राधिकारभित्र नपर्नेलाई सम्बन्धित निकायमा पठाउने गरेको बताए । उनले मानव अधिकारको विषयमा आफुहरु जहिले पनि सचेत भएर काम गर्दै आएको बताएका छन । उनले शान्ति सुरक्षा कायम गर्नको निम्ति प्रहरी अहोरात्र खटिरहेको बताउदै यसको निम्ति नागरिक समाज र मिडियाको पनि विशेष भूमिका रहने बताए ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीले अपराधका नयाँनयाँ घटनाहरु आउन थालेका बताउँदै, घरपरिवारबाटै बलात्कारका घटना र विवाहको प्रलोभन र जागिर लगाइदिने जस्ता लोभ देखाएर हुने प्रकृतिका महिला हिंसा बढेको बताइन् । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij