
बुधवार , जेठ ९, २०८१
बुटवल, ९ जेठ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर १ मा रहेका सामुदायिक वन उपभोक्ता समितिहरुका लागि बुधबार क्षमता विकास सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । सो अवसरमा सहभागीहरुले उपभोक्तालाई उत्पादन र स्वरोजगारका कार्यक्रमसँग जोडेर आर्थिक सवलीकरणमा जोड दिए ।
उपभोक्तालाई अपनत्व महसुस गराउन सके मात्रै वन तथा वातावरणको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने सहभागीहरुले बताए । सामुदायिक वन समन्वय समिति तिनाउको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो ।
तिनाउको झिगामारामा आयोजित कार्यक्रममा सहजीकरण गर्दै समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले पर्यावरण संरक्षणमा तिनाउको भूमिकाबारे जानकारी गराएका थिए । यहाँका सामुदायिक वनहरुको संरक्षणले जलाधार क्षेत्र संरक्षण हुनुका साथै तल्लो तटीय क्षेत्रमा रहेका हजारौं हेक्टर जमिटमा सिंचाई तथा पिउने पानी उपलब्ध गराउन सफल भएको उल्लेख गरे ।
तिनाउ जलाधार क्षेत्र संरक्षणका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकासँग सहकार्य भएको बताउँदै उनले लाभान्वित क्षेत्रहरु तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका तथा शुद्धोधन गाउँपालिकाले पनि सहकार्यमा सहभागी हुन जोड दिए । तल्लो तटीय क्षेत्रमा रहेका पालिकाहरुले पुनःभरण अन्तरगत पर्यावरण संरक्षका लागि तिनाउमा लाभ अनुसारको लगानी गर्नुपर्नेमा जोड दिए । तिनाउका पहाडहरुमा भएका उत्खनन्ले भविष्यमा पार्न सक्ने प्रभाव र जलवायु परिवर्तनको संकटबारे बेलैमा सोच्नुपर्ने उनको जोड थियो ।
कार्यक्रममा बोल्दै तिनाउ–१ का वडा सदस्य यमबहादुर घर्ती मगरले उपभोक्तालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।
त्यसै गरी पूर्व जनप्रतिनिधि अम्मर तरामुले उपभोक्तालाई वनमाथिको निर्भरता कम गरी संरक्षणमा सहभागी गराउनुपर्ने बताए । उपभोक्तालाई उत्पादनसँग जोड्न उनीहरुमा सीपको विकास गरी व्यवसायिक क्षमता वृद्धिमा जोड दिए ।
कार्यक्रममा बोल्दै पत्रकार डि.बी.सुस्लिङले समुदायलाई उत्पादनमा प्रोत्साहित गर्न सरकारले बजार सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । अल्पकालिन र दीर्घकालीन लाभका आधारमा वर्गीकरण गरी उपभोक्तालाई उत्पादनसँग जोडी आर्थिक रुपमा समृद्ध बनाउन सके वन तथा वातावरण र पर्यावरण संरक्षणमा टेवा पुग्ने बताए । सामुदायिक वन समन्वय समितिका कोषाध्यक्ष विनोद बस्यालको सञ्चालन तथा सदस्य भोजबहादुर छहरीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij