२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विश्वकप तयारीका लागि गर्न सक्ने गरेका छौं : पारस खड्का

बिहिवार , जेठ १०, २०८१

काठमाडौं, १० जेठ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गरेका छन् । 

उनले विश्वकपअगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताए । फरकफरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उनको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उनको विश्वास छ । 

पूर्वकप्तान पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताए । सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि बताए । खेलाडीले राम्रो खेले खुशी हुनु राम्रो भएको तर नराम्रो हुँदा धेरै आलोचना गर्न नहुने उनले बताए । नेपालको साधनश्रोत भन्दा बढी अपेक्षा गर्न नहुने उनको तर्क पनि छ । 

अधिकांश टोलीले अमेरिका र वेस्ट इण्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उनले बताए । खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ । 

क्यानका सचिव पारसले नेपाली टोलीमा सन्दीप जोडिने भएपछि टोलीमा नै आत्मविश्वास बढेको उल्लेख गरे । पछिल्लो समय सन्दीपको कमी भएको र सन्दीपको मुद्दाको टुङ्गो लागेकाले टोलीमा जोडिँदा आत्मविश्वास खेलाडीमा बढेको उनको धारणा छ । उनलाई कुन खेलाडीको स्थानमा राख्ने भन्ने जिम्मेवारी टिम सेलेक्टरमा नै छाडिएको पारसले उल्लेख गरे ।  

हाल नेपाली टोली वेस्ट इण्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ ।