२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप

शुक्रवार , जेठ ११, २०८१

काठमाडाैं, ११ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । काँग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको हो । बैठक शुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर बिरोध जनाएका थिए भने सांसदहरुले बोल्नका लागि समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गरेका थिए । तर काँग्रेस सांसदहरु बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अगाडी नबढाइ बैठक स्थगित भएको जानकारी गराएका थिए । बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसदहरुले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाए । सांसद प्रदीप पौडेलले सभामुखले काँग्रेस सांसदहरुलाई बोल्न नदिएको भन्दै संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताए । उनले सत्ताको इराशामा संसद एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाए ।

यता, सत्तारुढ दल नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आफूहरुले बोल्न नपाएको बताए । प्रमुख प्रतिपक्ष दलका सांसदहरु पालैपालो बोलिरहेका भएपनि सत्ता पक्षका सांसदहरु भने बोल्न नपाएको उनको भनाई छ । उनले काँग्रेस सांसदहरुले सभामुखप्रति धारे हात लगाएर नाराबाजी गर्ने गरेर अशिष्ट र अशोभनीय शैली अपनाएको बताए । उनले छिटोभन्दा छिटो संसद खुल्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेसले विगतमा आफू बोल्ने र संसद अवरोध गर्ने गरेको भन्दै आजको बैठकमा बोल्ने भए सबैलाई बोल्ने वातावरण बनाउनेगरी बैठक अगाडी बढाउन खोज्नुभएको बताए । उनले कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा काँग्रेस सांसदहरुलाई बोल्न नदिने नभनिएको स्पष्ट पारे । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रमुख सचेतक परियारले सहकारी प्रकरणमा छानविन समिति बनाउने विषयमा आईतवारसम्म सहमति जुट्ने बताए ।

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसदमा बारम्बार बोल्न दिइएको बताए । उनले समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रयास गरिरहेको बताए । समस्या समाधानका लागि कार्यदलले निचोड निकाल्ने उनको भनाई छ ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)कै सांसद लेखनाथ दाहालले नेपाली काँग्रेसको अवरोधका कारण महिनौदेखि संसदमा बोल्न नपाएको बताए । उनले कांग्रेस सांसदहरुले आफूहरुको मौलिक हकको अपहरण गरेको आरोप लगाए ।