२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मायादेवी–७ को मुख्य चोकमा हाईमास्ट लाईट जडान कार्य सुरु

शनिवार , जेठ १२, २०८१

भैरहवा, १२ जेठ ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ को मुख्य चोक (बनगाई चोकं मा हाईमास्ट लाईट जडान कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले हाईमास्ट लाईटको जग निर्माण कार्यको शुक्रबार शिलान्यास गरेका हुन् । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य पाण्डेयले हाईमास्ट लाईट जडान भएपछि अब नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यो लाईट जडान भएपछि अब यस क्षेत्र उज्यालो हुनुका साथै सवारी दुर्घटना समेत न्यूनीकरण हुन्छ । ’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेयले आफू मन्त्री हुँदा विभिन्न योजना ल्याएको बताए । उनले लाईट जडान भएपछि शान्ति सुरक्षामा पनि सहयोग पुग्ने बताए । शिलान्यास कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेय, कार्यपालिका सदस्य सोहन प्रसाद रजक, वडा सदस्य अनिल कुमार बरई, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

IMG_0385.JPG

उर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत उर्जा महाशाखाका जे.बी. थापाका अनुसार मायादेवी–७ मा जडान हुने हाईमास्ट लाईटको उचाई १६ मिटर रहेको छ । खबरपात्रोसँग कुराकानी गर्दै थापाले भने, ‘यसमा ८ वटा लाईट रहनेछ । एउटा लाईटको क्षमता ३ सय वाट रहेको छ । जसअनुसार ८ वटाको क्षमता २ हजार ४ सय वाट रहेको छ । लाईटको माथि नेपाली झण्डा समेत राखिनेछ ।’ उनले जडान गर्न लागिएको लाईट नेपालमै बनेको र २ वर्ष वारेन्टी समेत रहेको जानकारी दिए । 
हाईमास्ट जडान गर्न सुरु गरिएको चोक बेथरी पुल नजिकै र मर्चवार क्षेत्र जाने मुख्य सडकमा पर्छ ।