
मंगलवार , फाल्गुण ११, २०७७
नवलपरासी, ११ फागुन ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा फागुन १३ गतेदेखि २५ गतेसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित चौथो मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
सुनवल वडा नम्बर ६ बिसासयस्थित खेलमैदानमा हुने नगरस्तरीय फुटबल प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल सघ नवलपरासीका महासचिव तथा बिग बुद्ध समितिका सदस्य सुबिन्द्र कुंवरले सुनवल नगरपालिकाका १३ वडाबाट ‘समुह ए र समुह बी’ गरी १३ टिम सहभागी हुने बताए । कुंवरका अनुसार प्रतियोगिताको विजेता समूहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने उपविजेता समूहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा जाने २ समूहलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका संयोजक वडा नम्बर ६ का वडाध्यक्ष रामप्रसाद लामाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए ।
सुनवल नगरपालिकाले सो प्रतियोगिताको लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रतियोगिताको सह–आयोजक बिग बुद्ध समितिले अन्य अपुग रकम सहयोग गर्नेछ। सुनवल नगरपालिकाले हरेक वर्ष सञ्चालन गर्ने मेयर कप फुटबलका विजेता खेलाडीहरु ‘ए डिभिजन’ लेभलको प्रतियोगितासम्म सहभागी भइसकेका कारणले पनि यस प्रतियोगितालाई जिल्लामै महत्वपूर्ण प्रतियोगिताको रुपमा लिने गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij