
मंगलवार , जेठ १५, २०८१
भैरहवा, १५ जेठ ।
साहू–तेली कल्याण सेवा समिति, जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष रामवचन गुप्ताको निधन भएको छ । गुप्ताको सोमबार (हिजो) साँझ साढे ५ बजे उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचारका क्रममा निधन भएको समितिको रुपन्देहीका कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ताले बताए । कोषाध्यक्ष गुप्ताका अनुसार अध्यक्ष ७३ वर्षको उमेरमा निधन भएका रामवचन मृगौला, कलेजोलगायत समस्या भइ उपचाररत थिए ।
श्री महात्मा बुद्ध माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेका उद्योगी एवं समाजसेवी गुप्ताको निधनले उहाँको परिवारसँगै समाजलाई अपूरणीय क्षति पुगेको साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका सचिव रामदयाल गुप्ताले बताए । उनले भने, ‘अत्यन्तै सरल र शालिन स्वभावका धनी साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका अध्यक्ष रामवचन गुप्ताज्यूको निधनले हामी अत्यन्तै मर्माहत भएका छौं, समाजमा उहाँको अभाव खड्किरहन्छ ।’
साहू-तेली कल्याण सेवा समाज लुम्बिनी प्रदेश संयोजक अजय कुमार गुप्ताले वरिष्ठ उद्योगी तथा समाजसेवी रामवचन गुप्ताको निधनले स्तब्ध बनाएको बताए । उनले भने, ‘उहाँको निधनप्रति हामी एकदमै दुःखी छौं । दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।।’
सिद्धार्थनगर नगरपालिका–६ पिपरहिया निवासी स्वर्गीय रामवचन गुप्ता जगदम्बा राईस मिल सञ्चालन गर्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij