
आइतवार , जेठ २०, २०८१
बुटवल, २० जेठ ।
नियमित रुपमा सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण कार्यक्रमले सकारात्मक प्रभाव पारेको सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले २०६६ सालदेखि नियमित रुपमा सञ्चालन गरेको चालक र सह–चालक प्रशिक्षणका कारण सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा टेवा पुगेको उनीहरुको भनाई छ ।
यसैबीच दुर्घटना न्यूनीकरण र चालकको व्यवहार परिवर्तन गरी यात्रुमैत्री र जिम्मेवार नागरिक बनाउने उद्देश्यले पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले यातायात मजदूरहरुलाई निरन्तर प्रशिक्षण दिदै आएको छ ।
प्रशिक्षण दिँदै प्रमुख प्रशिक्षक एवं ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले लापरवाहीकै कारण बढी दुर्घटना हुने गरेको उल्लेख गरिन् । तीव्र गति, मादकपदार्थ तथा लागूपदार्थ सेवन, ट्राफिक नियम उल्लंघन, मोबाइलको प्रयोग, गलत दिशाबाट ओभरटेक गर्ने जस्ता कारणले दुर्घटना हुने गरेको निरीक्षक पाण्डेको भनाई छ । ठुलो संख्यामा मान्छेको जिम्मेवारी लिएर सवारीसाधन चलाउने चालकहरुले जिम्मेवार र इमान्दार भएर सवारीसाधन चलाएमा दुर्घटना न्यूनीकरण हुने कुरामा प्रहरी निरीक्षक पाण्डेको जोड थियो ।
हालसम्म करिब ८ हजार जना चालक र सह–चालकलाई पश्चिम नेपालले प्रशिक्षण दिएको जानकारी दिँदै प्रशिक्षण कार्यक्रमका संयोजक नारायण प्रसाद घिमिरेले अहिलेसम्मको प्रशिक्षणले १५ प्रतिशत दुर्घटना कमी आएको बताए । प्रशिक्षण लिईसकेपछि व्यवहारमा लागु गरेका छन् कि छैनन् भन्ने बुझन् प्रा.लि.ले चेकजाँच गर्ने गरेको र लागु नगर्नेलाई आन्तरिक कारबाही गर्नुका साथै नियमित रुपमा सुरक्षित यात्रा गराउने चालकलाई नगद सहित सम्मान र पुरस्कार दिने गरिएको संयोजक घिमिरेले जानकारी गराएका छन् ।
विगतका महिनामा जस्तै दुई दिनसम्म सञ्चालन भएको सो प्रशिक्षण कार्यक्रममा पश्चिम नेपाल बस प्रा.लि.का सञ्चालकहरु मोहन पिएस, जितेन्द्र खत्री, नारायण भण्डारी लगायतले सवारी दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका साथै प्रा.लि.लाई बस सञ्चालक, चालक र सह–चालक सबैको साझा संस्था बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण मात्र नभइ चालक तथा सह–चालकहरुको हकहित संरक्षणका लागि २२ लाखसम्मको बीमा लगायतका सुविधाहरु समेत व्यवस्था गरिएको सञ्चालकहरुको भनाइ थियो ।
नेपालमा सवारी दुर्घटनाबाट वर्षेनी करिब २८ सय जनाको मृत्यु हुनुका साथै १२ हजार ५ सय जना घाइते हुने गरेका छन् । विश्वमा दैनिक ३ हजार बढीले सवारी दुर्घटनाबाट ज्यान गुमाउँछन् भने वार्षिक २ करोड बढी घाइते हुने गरेको तथ्यांक छ । यसरी ठूलो जनधनको क्षति हुने सवारी दुर्घटनाका विभिन्न कारणमध्ये चालकको लापरवाही र हेलचेक्राई प्रमुख हुने गरेको आरोप छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रा.लि.मा आबद्ध बसका चालक, सह–चालकहरुलाई पालैपालो ट्राफिक प्रहरी र यातायात क्षेत्रका विज्ञहरुबाट नियमित प्रशिक्षण दिने गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij