२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्यापर्यटनका नाममा सामुदायिक वनमा व्यक्ति हावी हुने क्रम रोक्न आग्रह

आइतवार , जेठ २०, २०८१

बुटवल, २० जेठ । पर्यापर्यटनका नाममा सामुदायिक वनमा व्यक्ति हावी हुने क्रम बढेको भन्दै त्यसलाई रोक्न उपभोक्ताले आग्रह गरेका छन् । वनमा चलेका केवलकार र होटलहरुको उदाहरण दिदै निश्चित व्यक्तिको फाइदाका लागि मात्रै वन मास्न दिन नहुने उनीहरुले बताए । 

सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको  सामुदायिक वन र स्थानीय सरकारबिच संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले अध्यक्ष भण्डारीले वनमा तेहरो कर लगाएर राज्यले राजस्व लिइरहेको तर संरक्षणमा ध्यान नदिएको भन्दै दुःख व्यक्त गरे । उनले वनको संरक्षण र उपभोगबाट स्थानीयले फाइदा लिने बताउन स्थानीय तहले संघ र प्रदेशसँग नबाझिने गरी ऐन बनाउन र लागू गर्न सक्ने बताए ।

वन उपभोक्ताको हित र स्थानीय तहसँगको समन्वयमा सरकारी सामुदायिक वन महासंघ सधै अगाडि रहेको बताउँदै उनले यसपटक वन महासंघलाई स्थायी लेखा नम्बर प्राप्त गर्न र त्यसको छुट दिलाउन समेत अहम भूमिका खेलेको उनले बताए । 

गण्डकी प्रदेशसभा सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष भारती पाठकले वन हरियाली र वातावरण संरक्षणका लागि मात्रै नभएर उपभोक्ताको आय वृद्धि र देशको समृद्धिका लागि पनि बनाउन आग्रह गरिन् । त्यसका लागि वन र समृद्धिलाई जोडेर सबै वनमा व्यवस्थापन योजना बनाउन उनले सुझाव दिइन् । 

स्थानीय सरकार नागरिकको ढोका अगाडिको सरकार भएको बताउँदै प्रदेश सभा सदस्य पाठकले वनको उपयोग र संरक्षणबाट उपभोक्तालाई लाभ लिने बनाउन स्थानीय सरकार अझ जिम्मेवार हुनुपर्ने बताइन् । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वनलाई समृद्धिमा जोड्न र वनको उपयोगबाट सबैले फाइदा लिने बनाउन स्थानीय सरकार सधै अग्रसर भएको बताए । 

देवदह नगरपालिका उप्रमुख विद्यालक्ष्मी गुरुङले सामुदायिक वन उपभोक्ताको आम्दानी र जीविकोपार्जन फेर्ने राम्रो साधन भएकाले त्यसअनुसार सहकार्यमा काम गर्न आग्रह गरिन् । 

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले वनको फाइदा महिला र विपन्नका लागि उपयोग गर्न आग्रह गरे।