२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘राजनीतिक अस्थिरताका कारण मुलुकमा विभिन्न समस्या’

आइतवार , जेठ २०, २०८१

रुपन्देही, २० जेठ । 
मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । समाजको स्थापना दिवसका अवसरमा बुटवलमा पनि सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक भन्ने विषयमा नागरिक सम्वाद कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागीहरुले राजनीतिक दलहरु सत्ता स्वार्थमा लिप्त भएको र सुशासन स्थापना गर्न असफल रहेको भन्दै नागरिक समाजको भूमिका आवश्यक रहेको बताए । 

मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसा भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै २०५३ सालमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय सुशासन प्रबद्र्धन र दण्डहिनता अन्त्यका लागि आवाज उठाउँदै आएको छ । शनिबार बुटवलमा आयोजित सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक विषयक नागरिक सम्वाद कार्यक्रममा सहभागीहरुले राजनीतिक अस्थिरताका कारण मुलुकमा आर्थिक सामाजिक लगायतका क्षेत्रमा विभिन्न समस्याहरु उत्पन्न भएको बताएका छन् । 

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले राजनीतिक दल र नागरिक समाज एकताबद्ध भएर सुशासन कायम गर्ने संकल्पका साथ अघि बढेमा भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताए । उनले राज्यका विभिन्न तहका हुने गरेका अनियमितता अन्त्य गरी सदाचार स्थापना गर्न नागरिक समाजको खबरदारी आवश्यक रहेको कुरामा जोड दिए । नगरप्रमुख खाणले मुलुकमा व्यवस्था परिवर्तन गर्न एकता र सहकार्य गरेका राजनीतिक दल र नागरिक समाजको एकता र सहकार्य थप आवश्यक रहेको बताए ।  

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले नेपालमा राजनीतिक परिवर्तनमा सहकार्य गरेका शक्तिबीच एकता नहुँदा सुशासन प्रवद्र्धनमा चुनौती थपिएको बताए । स्थापनाकाल देखि नै लोकतन्त्रको सबलीकरणमा जोड दिदै आएको शान्ति समाजले सुशासन कायम गर्न भ्रष्टाचार र अनियमिताको अन्त्यका लागि अभियान सञ्चालन गरिरहेको खनालले बताए । 

उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, प्रदेश खेलकुद परिषदका सचिव जयप्रकाश भट्टराई, प्रदेश चिकित्सक संघका अध्यक्ष डा.कृष्ण खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार लगायतले मुलुकमा राजनीतिक स्थिरताको अभाव हुँदा आर्थिक सामाजिक क्षेत्रमा समेत असर परेको बताए । 

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति प्रजापाल गिरी, नेकपा एमालेका मेघराघ घिमिरे, नेकपा (माओवादी केन्द्र) का महेन्द्र भुसाल, नेकपाका शरद ओली, लगायतले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिलाउन सरकार असफल भएको भन्दै नागरिक समाजले हस्तक्षेपकारी भूमिका खेल्न आवश्यक रहेको चर्चा गरेका थिए ।