२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा अत्याधुनिक मुटुरोग उपचार सेवा सञ्चालन हुँदै

सोमवार , जेठ २१, २०८१

भैरहवा, २१ जेठ । 
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीमा अत्याधुनिक मुटुरोग उपचार सेवा सञ्चालनमा आउने भएको छ । आगामी असारदेखि हस्पिटल अन्तर्गत अत्याधुनिक मुटुरोग अस्पताल सञ्चालनमा ल्याउन लागिएको प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । उनले भने, ‘मुटुरोग ओपिडी सेवा अन्तर्गत इको टीएमटी हल्टर सेवाहरू चौबिसै घण्टा सञ्चालनमा रहनेछ । मुटुरोग अस्पतालमा दुईजना विदेश लगायत देशका विभिन्न अस्पतालहरुमा काम गरी अनुभवप्राप्त मुटुरोग विशेषज्ञको टीमहरूद्वारा सञ्चालन गरिनेछ ।’ 

हस्पिटलले सुरुबाटै मुटु अस्पताल सञ्चालन गर्नका लागि पहिलेदेखि नै स्थान सुरक्षित राखेको र हाल सोही स्थानमा उक्त अस्पताल सञ्चालन गरिने पौडेलले बताए । यो सेवा सञ्चालन भएपछि रूपन्देहीसहित कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङलगायतका स्थानहरूका मुटुरोगसम्बन्धी बिरामीहरूले छिटोछरितो सर्वसुलभ मूल्यमा प्राप्त गर्ने उनको भनाइ छ ।
अस्पतालले अमेरिका जर्मन लगायतका देशहरूमा निर्मित उपकरणहरूको प्रयोग गरी मुटुरोग सेवा सञ्चालन गर्ने पौडेलले बताए । ‘जसअन्तर्गत अत्यन्त ठूलो र महंगो क्याथ ल्याब मेसिन सञ्चालनमा आउनेछ, जसको माध्यमबाट मुटुको ब्लकेज लगायत सम्पूर्ण सेवाहरू सात बेडको सीसीयू सञ्चालनमा आउनेछ, ’उनले भने ।

भैरहवा क्षेत्रमा मुटुरोग सम्बन्धी सेवाको अभावमा बिरामीहरूले धेरै दुःख पाइरहेको अवस्था भएकाले सो समस्यालाई समाधान गर्नका लागि मुटु अस्पताल सञ्चालनमा ल्याउन लागिएको सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष डा. सुवोध कुमार पाण्डेले बताए । ‘यसले पूर्ण रुपमा गोरखपुर, काठमाडौंलगायतका अस्पतालहरूमा धाउनुपर्ने समस्या कम हुनेछ । अहिले दिनप्रतिदिन मुटुका बिरामीहरू बढ्दै गइरहेको र हार्टएटक लगायत समस्या पनि धेरै बढेको छ, ’उनले भने ।

विगतका दिनहरूका अनुभवबाट यो अस्पतालले मुटुरोग सेवा सञ्चालनका लागि आवश्यक पहल गर्दै आएको अस्पतालका निर्देशक डा. अमित चर्तुवेदीले बताए । 

विगत लामो समयदेखि ट्रमा न्यूरो, हाड तथा जोर्नीरोग सेवामा ख्यातिप्राप्त १ सय बेडमा सञ्चालित यो अस्पताल दिनप्रतिदिन ख्याति कमाउँदै बिरामीहरूको विश्वाससिलो अस्पतालको रुपमा स्थापित भएको प्रबन्ध निर्देशक पौडेलले दावी गरे । अस्पतालले विभिन्न विदेशी संघ–संस्था थाई सरकार लगायतका संघ–संस्थाहरूसँगको सहकार्यमा घुँडा प्रत्यारोपण तथा विभिन्न अपरेशन सेवाहरू सफल रुपमा सञ्चालन गर्दै आएको उनले बताए ।