
सोमवार , जेठ २१, २०८१
भैरहवा, २१ जेठ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थिरता बिना कसरी मुलुकको विकास हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले नेपालको राजनीतिक इतिहासमा २००७ देखि २०८० सालसम्म कुनै पनि सरकार पाँच वर्षसम्म चल्न नसकेको बताए ।
जसपा नेपाल जिल्ला समिति रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले भने, ‘एउटा सरकार आउँछ, केही योजना बनाउँछ, त्यो योजना कार्यान्यवन हुन अघि जान्छ । फेरी अर्को सरकार आउँछ र जान्छ अनि विकास कसरी हुन्छ ? सुशासन कसरी हुन्छ ? उनले राजनीतिक अस्थिरताले मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र बढ्ने बताए । उनले राजनीतिक अस्थिरताले विकासको गति रोकिने बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले पार्टी फुट्यो भनेर व्यर्थमा चिन्ता नगर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘जो गयो, त्यो आफ्नो थिएन, जो आफ्नो हो, त्यो पार्टीको साथमा छ । त्यसैले पार्टी छोडेर गएकाप्रति धेरै चिन्ता नगरौं । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन ।’
उनले गैरकानूनी रुपमा जसपा नेपाल फुटाइएको घोषणा गरिए पनि १ प्रतिशत कार्यकर्ता पनि अर्को पार्टीमा नगएको दावी गरे । उनले भने, ‘जसपा नेपालमा डेढ लाख क्रियाशील सदस्य छन्, तीमध्ये १ हजार पनि उता गएका छैनन् । सत्ता बचाउन जसपा नेपाल फुटाइएको आम रुपमा घोषणा गरियो । ’उनले मधेश आन्दोलन र अन्य आन्दोलनमा फरक रहेको दावी गरे । मधेश आन्दोलनले मधेशी, महिला, मुस्लिम, दलित, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका प्रतिनिधित्व बढाएको र जीवन प्रणालीमा समेत परिवर्तन ल्याएको बताए ।
अध्यक्ष यादवले पार्टीबारे नकारात्मक कुरा नगर्न आग्रह गरे ।
कार्यक्रममा जसपा नेपालका नेता तथा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव, सावित्री विश्वकर्मा, रितु यादव, लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, उपाध्यक्ष रामअवतार यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव राहुल यादव, जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, सचिव विष्णु अधिकारीलगायतले पार्टीलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij