२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सियारीमा मोतिखेति सम्बन्धी तालिम

मंगलवार , जेठ २२, २०८१

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा मोति खेती सम्बन्धी तालिम शुरु भएको छ । नेपालमा मोति खेतिलाई व्यवसायिक रुपमा अगाडि बढाउन सकिने सम्भावनालाई ध्यानमा राखेर मोति खेतिको तालिम शरु गरिएको हो । 

सियारी गाउँपालिका र बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) को समन्वयवमा मोति  खेतिको तालिम अगाडि बढाईएको हो । तालिममा सियारी सहित लुम्बिनी सास्कृतिक नगरपालिका, कोटहिमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिकाका ११ जना सहभागि भएका छन् । 

IMG_9159.JPG

संसारभर नै गरगहना, औषधि र भगवानको मुर्ति बनाउनका लागि प्रयोग हुने बहमुल्य बस्तु मोतिको व्यवसायिक खेति गरी नागरिकलाई उद्यमसंग जोड्नका लागि यस्तो खालको तालिम दिईएको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको भनाई छ । अध्यक्ष घिमिरेले सियारीमा माछा पालनसंगै मोति खेती गर्नका लागि उपयुक्त स्थान भएकाले सियारीबाट सुरु गर्न लागिएको बताए । 

कृषकहरुलाई मत्स्य अनुसन्धान केन्द्र पोखराका डा. मोहम्मद ईकवाल हुसेनले प्रशिक्षण दिएका छन् । मोति खेतिका लागि आबश्यक कच्चा पदार्थ पोखरीमा पाईने तथा पोखरीमा नै त्यसको खेति गर्न सकिने प्रशिक्षक हुसेनको भनाई छ । उनले चीन र जापानमा मोतिको व्यवसायिक खेति शुरु भएको उल्लेख गर्दै नेपालमा पनि यसको राम्रो सम्भावना रहेको उल्लेख गरे । 

सिडिएम नेपालले हरित रोजगार अन्तरगत मोति खेतिका लागि तालिमको सहजिकरण गरेको कार्यक्रम संयोजक मधुसुदन पौडेलले जानकारी दिए । उनले तालिम लिएका कृषकलाई शुरुमा खेति गर्न सहज बनाउनका लागि प्रति कृषक २० हजारका दरले आर्थिक सहयोग गर्ने जनाएका छन् ।