२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विकासको काममा एकढिक्का भएर लाग्ने अठोट लिएका छौं : विष्णु पौडेल

बुधवार , जेठ २३, २०८१

भैरहवा, २३ जेठ ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासको काममा सबै एकढिक्का भएर लाग्ने अठोट लिएको बताएका छन् । उनले जनताको पक्षमा काम गर्न मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘तिलोत्तमा प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान’को उद्घाटन गर्दै पौडेलले निर्वाचनमा चुनाव चिन्ह, झण्डा, पार्टी भनेर लागे पनि अघिपछि सबै मिलेर विकासका कार्यमा हातेमालो गर्नुपर्ने बताए । उनले भने, ‘तिलोत्तमा नगरपालिका भाग्यमानी छ । यहाँ सचेत र जागरुक नागरिकको बसोबास छ । तिलोत्तमालाई राम्रो बनाउने मिशन छ । तिलोत्तमाको विकासका लागि के गर्नुपर्छ । पहिला पनि गरेका हौं । अहिले पनि गर्दैछौं र भोली पनि गर्नेछौं । ’

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले नेपालको झण्डा र नेपाली हुनुप्रति गौरव गर्नुपर्ने बताए । उनले तिलोत्तमा नगरपालिकाले प्रशंसनीय कार्य गरेको बताए । पौडेलले आजको दुनियामा सबैभन्दा ठूलो तागत सूचना नै भएको बताए । उनले आईटी पार्क स्थापना गर्ने तिलोत्तमा नगरपालिकाको निर्णयप्रति सम्मान रहेको बताए । उनले भने, ‘मेरो आग्रह छ यो पार्कबाट तिलोत्तमाबासीले यथेष्ट लाभ लिनुहोला । आईटी पार्कको सदुपयोग गर्नुहोला । ’ संविधानमा नागरिकको धेरै राम्रा अधिकार लेखिएकाले मानिसको जीवनस्तरमा सुधार हुनुपर्ने र विकसित समाज आजको आवश्यकता रहेको उनको भनाइ थियो । 

नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका पौडेलले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको र ऋण तिर्न पनि ऋण लिनुपर्ने अवस्था रहेको बताए । उनले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताए । उनले अहिलेको बजेटले तिलोत्तमाका विभिन्न योजनालाई समेटेको बताए । उनले भने, ‘सामूहिक प्रयासले तिलोत्तमाको विकास गर्ने हो ।’

Bishnu Poudel.JPG

त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले तिलोत्तमाले मानवीय र भौतिक विकासलाई सँगसँगै लगेको बताए । उनले तिलोत्तमाको बेरुजु पनि कम रहेको बताए।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमाले कथामा नभइ काममा विश्वास गर्दै आएको बताए । उनले भने, ‘राष्ट्रिय झण्डा हाम्रो शान र गौरव हो ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले तिलोत्तमा नगरपालिकाले राम्रो काम गरेको बताए । उनले भने, ‘रुपन्देहीको विकासमा विष्णु पौडेलको ठूलो योगदान छ । उहाँ विकासप्रेमी नेता हो ।’

तिलोत्तमा नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_2300.JPG

तिलोत्तमा नगरपालिकाले नगरको प्रशासनिक भवन परिसरमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ । नगरपालिकाको ४० लाख रुपैयाँ आन्तरिक श्रोतबाट निर्माण भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको ४० लाख आन्तरिक स्रोतबाट बनेको उद्यानमा राष्ट्रिय झण्डा, एलईडी बोर्ड र नगरभित्रका धार्मिक र साँस्कृतिक सम्पदाहरु झल्किने गरी कम्पाउण्डवालको भित्री भागमा पेन्टिङ गरिएको बताए ।

उक्त एलईडी बोर्डमा क्रिकेट, फुटबल लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली टीमले खेल्ने खेलहरुको निःशुल्क प्रत्यक्ष प्रसारण गरिने नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

IMG_2247.JPG