
बुधवार , जेठ २३, २०८१
भैरहवा, २३ जेठ ।
प्रत्येक वर्ष जुन ५ का दिन मनाइने विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विकासका नाममा प्रकृति माथि मानवीय अतिक्रमण र लापरवाहीका कारण वातावरण सन्तुलन गुम्न गइ समस्या उत्पन्न हुने गरेको सरोकारवालाहरुले बताएका छन् । सरकार र निजी क्षेत्रबाट वनजंगल संरक्षणमा मात्रै लगानी गरिएको भन्दै वातावरण बचाउन हिमालय, चुरे र नदी संरक्षणमा सरोकारवालाको जोड दिएका छन् ।
यसैबीच ‘विश्व वातावरण दिवसका अवसरमा हिमालय र चुरे बचाऔं, मरुभुमिकरण हुनबाट जोगाऔं’ भन्ने मूल नाराका साथ मानव अधिकार तथा शान्ति समाजले बुटवलमा वृक्षारोपण तथा संरक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल उपमहानगरपालिका-२ स्थित पाखापानीमा वृक्षारोपण र वृक्ष संरक्षण कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार गोविन्द खनालले वातावरण मानव जीवनको लागि महत्वपूर्ण हिस्सा भएको चर्चा गरेका थिए । खनालका अनुुसार मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र सहिष्णुता भन्ने मूल नाराका साथ विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको शान्ति समाजले पछिल्लो समय हिमालय, चुरे र वातावरण बचाउ भन्ने अभियान सञ्चालन गर्दै आएको छ ।
सो अवसरमा नेपाली काँग्रेसका नेता चिरन्जीवी जोशी, नेपाल तरुण दलका नेता हसन्त लामा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य डिपि खनाल, जिल्ला सभापति कृष्ण भट्टराई, सचिव कृष्ण पाण्डे, सह–सचिव सिता पौडेल, सञ्चारकर्मीहरु हरिश ढकाल, मनु गुरुङ्ग लगायतले मानव सभ्यता संरक्षणका लागि वातावरण संरक्षणका लागि जोड दिएका थिए । सो अवसरमा बाँस, रुद्राक्ष, चन्दन लगायतका विरुवाहरु रोपिएको र विगतका वर्षमा रोपिएका विरुवाहरुको संरक्षणका लागि पनि आवश्यक कार्यहरु गरिएको थियो ।
त्यसै गरी विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा नगरपालिकास्थित कुन्जला पार्कमा पनि वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले भौतिक विकास निर्माणका साथै वातावरण संरक्षण र हरियाली प्रवद्र्धनलाई जोड दिइएको बताए । त्यस्तै नगर उपप्रमुख जगेश्वरी देवी चौधरीले वातावरण संरक्षणमा स्थानीय तह र स्थानीय संघ–संस्थाहरुको सहकार्य र समन्वय आवश्यक रहेको चर्चा गर्दै वातावरण बचाउन समुदाय र क्लबहरुको भूमिका पनि महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रमका वडा नम्बर ४ का अध्यक्ष हरिबहादुर क्षत्रीले रोपिएका विरुवाहरु संरक्षण गर्न स्थानीय जनताको चिन्ता र चासो आवश्यक रहेको बताए । आयोजक क्लबका अध्यक्ष दीपक पाठकका अनुसार हरियाली प्रबद्र्धन र वातावरण संरक्षण गर्ने उद्देश्यसहित लिची, आँप, कटर, बेलौती लगायत १ सय ५० भन्दा बढी फलफूलका विरुवाहरु रोपिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij