२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

बुद्धिचाल प्रतियोगितामा राजन सुवेदी र सिन्दिरा जोशी नेपाल च्याम्पियन

बिहिवार , जेठ २४, २०८१

काठमाडौं, २४ जेठ । 
२४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापाली खेलाडी राजन सुवेदी च्याम्पियन बनेका छन् । ११ औं चरणमा प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंकसहित सुवेदी नयाँ विजेता बनेका हुन् । सुवेदीले १९ सय २३ रेटेड प्रेमकृष्णविरुद्ध एक अंक हात पारी सात जीत, दुई बराबरी र दुई हारको नतिजा आत्मसाथ गरेका हुन् । ३५ वर्षीय सुवेदीले नयाँ विजेता बनेसँगै सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरीको बुढापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडको लागि नेपाली टीममा स्थान सुरक्षित गरेका छन् । 

त्यसै गरी झापाकै सुरुत दाहालले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दै ७.५ अंक बनाएर दोस्रो स्थानमा रहन सफल बनेका छन् । टाइब्रेकरका आधारमा समान ७.५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहेर राष्ट्रिय प्रतियोगिताको यात्रा टुंग्याएका छन् । 

९ औं महिला राष्ट्रिय बुद्धिचालतर्फको अन्तिम खेलमा कृतिसारा अधिकारीसँग पराजित भएता पनि ९ अंकसहित दोस्रो पटक सिन्दिरा जोशी नेपाल च्याम्पियन हुन सफल भइन् । सिन्दिरले ११ औं चरणको खेलमध्ये ८ खेलमा सफलता हात पार्न सफल भइन भने दुई खेलमा हार व्यहोरेकी थिइन् ।

त्यसै गरी झापाका कृतिसारा अधिकारीले ८.५ अंक जोड्दै उपविजेता बन्न सफल भइन् । उनले अन्तिम खेल आफ्नो पोल्टोमा पार्दै ओलम्पियाडको टिकट दावी गरेकी छिन् । प्रतिष्पर्धामा उत्कृष्ट खेल पस्केकी कास्कीका पूजा भण्डारी ८ अंक प्राप्त गर्दै तेस्रो भइन । उनीसँगै ८ अंक हात पार्दै शान्ति धिमाल चौथो स्थानमा उभिन सफल भइन् । चार महिला खेलाडी ओलम्पियाडको लागि छनौट हुन सफल भएका छन् ।

नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार हंगेरीको बुढापेष्टमा पुरुषतर्फ विवेक थिङ, रुपेश जैसवाल, राजन सुवेदी, सुरुत दाहाल र क्षितिज भण्डारी छनौट भएका छन् । महिलातर्फ सुजना लोहनी, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी र शान्ति धिमाल छनौट भएका हुन् । 

47488116-06ec-4d5d-b25d-a1440c43e79d.jpg

लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पालको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेताहरुलाई पुरस्कृत गरेका छन् ।