
आइतवार , जेठ २७, २०८१
भैरहवा, २७ जेठ ।
नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्तले समुदायलाई कहिल्यै बिर्सन नहुने बताएका छन् । उनले समुदायलाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आयोजनामा शनिबार भैरहवामा भएको एल.ई.आई काेन–टु २०२४ (सम्मेलन) को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले अस्पतालमा आएका बिरामीलाई सहयोग गर्छौं । हाम्रो अस्पताल समुदायमा आधारित अस्पताल हो । त्यसैले अस्पताललाई कहिल्यै पनि बिर्सनुहुँदैन । उनले दोस्रोपटक सम्मेलन आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले भने, हामी काम सधै गर्छौं । मनमा विचार गर्नु पनि काम हो । जसले आत्मादेखि हामीलाई खुसी बनाउँछ, हामी त्यही काम गर्छौं ।’उनले आफ्ना कामलाई सहयोगी भावनाले गर्न सके मानिस झन खुसी हुने बताए । प्रा.डा. पन्तले काठमाडौंमा मात्र अस्पताल भएर नहुने भएकाले जहाँ सरकार पुगेको छैन, त्यहाँ नेत्र ज्योति संघ पुग्नुपर्छ भन्ने नाराका साथ अघि बढेको बताए । उनले आफ्नो शरीरलाई चिने जस्तै आत्मालाई पनि चिन्न जरुरी रहेकोमा जोड दिए ।
त्यस्तै नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानमा डाक्टर र कर्मचारीको ठूलो मिहिनेत रहेकै कारण संस्था यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘कुनै कालखण्डमा बाहिरबाट डाक्टर बोलाउनुपर्दथ्यो । तर, अहिले अवस्था फेरिएको छ । अहिलेको परिस्थिति हेर्दा सपना जस्तै लाग्छ । ’ उनले अस्पताललाई अगाडि बढाउन नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तको ठूलो योगदान रहेको बताए । राणाले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानमा काम गर्नु गर्वको अनुभुति हुने गरेको बताए । उनले यस्ता सम्मेलन आगामी दिनमा पनि गर्नुपर्नेमा जोड दिए ।
श्री रण अम्बिका शाह आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछानेको अध्यक्षता, सह प्राध्यापक डा. सुशिला पटेलको स्वागत तथा डा. मनिता सुनम गोदारको सञ्चालनमा भएको कार्यक्रममा सहप्राध्यापक डा. कबिन्द्र बज्राचार्य, डा. अनिल शेरचन, सेवा फाउण्डेशनकी कन्ट्री डाईरेक्टर डा. विनिता शर्मा, नेपाल अफ्थालमिक सोसाईटीका अध्यक्ष प्रा.डा. मिनु चौधरीलगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा डा. अनिल शेचरनलाई सम्मान गरिएको थियो भने डा. रुशेन कसी, डा. तोसिका दाहाल र डा. प्रकृति प्रधानलाई फेलोसीप सर्टिफिकेट वितरण गरिएको थियो । सेवा फाउण्डेशनको सहयोगमा एकदिने सम्मेलन भैरहवामा सम्पन्न भएको श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij