२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

आइतवार , जेठ २७, २०८१

  • 802
    Shares
  • 802
    Shares
  • भैरहवा, २७ जेठ ।
    भैरहवामा निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको आयोजना तथा सामाजिक सेवा एकाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नमुना एकीकृत परिषद रुपन्देहीको सहकार्यमा सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा उक्त कार्यक्रम भएको हो ।
    कार्यक्रममा बोल्दै सहभागीहरुले सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवाका बारेमा लक्षित वर्गलाई जानकारी नहुँदा उनीहरु सेवाबाट वञ्चित भएको बताए ।

    कार्यक्रममा प्रमुख अतिथि भीम अस्पताल भैरहवाकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले सरकारले उपलब्ध गराएका निःशुल्क स्वास्थ्य सेवाका बारेमा नागरिकलाई जानकारी हुनु आवश्यक रहेको बताइन् । अस्पतालमा सेवा लिन आउने लक्षित वर्गलाई अस्पतालबाटै पनि परामर्श गरिनुपर्ने उनको भनाइ थियो । उनले अस्पतालमा देखिएका समस्या समाधानका लागि पहल र प्रयास गर्ने बताइन् । उनले भनिन्, ‘विगतमा पनि मैले भीम अस्पतालको जिम्मेवारी सम्हाल्दा अस्पतालमा सुधारको धेरै प्रयास गरे । सबै समस्याको समाधान एकैपटक हुँदैन । ’

    त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले सरकारबाट पाउने निःशुल्क स्वास्थ्य सेवाबारे नागरिकलाई जानकारी हुनुपर्ने बताए । उनले नागरिकको सबैभन्दा बढी खर्च स्वास्थ्यमा हुने गरेकाले निःशुल्क स्वास्थ्य सेवाबारे नागरिकलाई जानकारी हुन सके ती नागरिक लाभान्वित हुने बताए । उनले भने, ‘यो कार्यक्रमको आवश्यकता महसुस गरी आयोजना गरिएको हो ।’

    नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले राज्यले नागरिकलाई दिएको निःशुल्क स्वास्थ्य सेवाको उपभोग गर्नका लागि जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको बताइन् । उनले भनिन्, ‘राज्यले नागरिकलाई दिने स्वास्थ्य सेवाबारे जानकारी गराउनुपर्छ । ’ पौड्यालले अब विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुपर्नेमा जोड दिइन् ।

    सामाजिक सेवा एकाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख नेत्र प्रसाद आचार्यले सूचनाको अभावमा समाजमा रहेका व्यक्तिले उपचार सेवा पाउन नसकेको बताए । उनले संविधानमा लेखिएका कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘स्वास्थ्य सेवा नेपाली नागरिकको मौलिक हक हो ।’ 

    IMG_3179.JPG

    सिद्धार्थनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेलले स्वास्थ्यतर्फ सबैको ध्यान पुग्नुपर्ने बताइन् ।

    कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, सल्लाहकार लक्ष्मण भण्डारी, साहित्यकार विजय गोविन्द श्रेष्ठ, श्री सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेललगायतले भनाइ राखेका थिए ।

    कार्यक्रम सह–संयोजक तथा उद्योग व्यापार संगठन, रुपन्देहीका कार्यसमिति सदस्य शिवम जयसवालको स्वागत, संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीको धन्यवाद ज्ञापन तथा सचिव एवं प्रवक्ता कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।