
बिहिवार , जेठ ३१, २०८१
बुटवल, ३१ जेठ ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकट काट्न सक्ने छन् ।
यो सुविधा अन्तर्गत सेवाग्राहीले अस्पतालको मोबाइल एप तथा इन्टरनेट ब्राउजरमा गइ अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् । उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिकट काट्न सक्ने व्यवस्था गरिएको छ । यो सेवालाई केही समयका लागि परीक्षणकालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा टिकटकै लागि सेवाग्राहीले घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न र सेवालाई थप गुणस्तर बनाउन अनलाइन सेवामा जान लागिएको उनले बताए ।
अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी सहज पहुँचमा ल्याउनका लागि थप सुविधाहरु विस्तार गर्दै जाने मेसु ढकालले बताए । अस्पतालले सुरु गर्न लागेको अनलाइन टिकट सेवामा बीमा सेवा लिनेहरुका लागि भने तत्काल व्यवस्था रहेको छैन । उनीहरुलाई पनि विस्तारै समेट्ने गरी योजनामा रहेको ढकालले जानकारी दिए । अस्पतालमा दैनिक २ हजारदेखि २५ सय जनसम्म सेवाका लागि आउने गर्छन् ।
त्यसै गरी अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्यनजर गरी विहान ८ बजेदेखि नै रिफलि सेन्टर सञ्चालनमा आउने भएको छ । यसअघि विहान १० बजेदेखि सेवा सञ्चालन हुँदै आएकोमा असार १ गतेदेखि नियमित औषधी सेवा गर्ने बिरामीहरुले ८ बजे नै अस्पतालमा आएर औषधी सेवा लिन सक्ने अस्पतालमा प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij