
शुक्रवार , आषाढ १, २०८१
दाङ, ३२ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरासँग संयुक्त राष्ट्र संघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीले भेटघाट गरेका छन् । दाङको (राप्ती उपत्यका) देउखुरीस्थित मुख्यमन्त्री तथ मन्त्रीपरिषदको कार्यालय बिहीवार भएको भेटघाटमा मुख्यमन्त्री महराले संयुक्त राष्ट्र संघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए ।
उनले अनमिनले नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपालको दिगो विकासमा संयुक्त राष्ट्र संघले गरेका कार्यक्रमहरू उत्कृष्ट र सन्तोषजनक रहेको जानकारी दिए ।
मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारले प्रविधिको माध्यमबाट यहाँको कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार र साँस्कृतिक क्षेत्रहरूमा विकास गर्न खोजेको बताए ।
उनले नेपालका भूमिहीन, सुकुम्बासी र असहायको पक्षमा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास गरेको भन्दै सहकार्यका लागि संयुक्त राष्ट्र संघलाई आग्रह गरे ।
नेपालमा सीमान्तकृत, गरीब र असहायका पक्षमा संयुक्त राष्ट्र संघका एजेन्सीहरूले नतिजामुखी कामहरू गरिरहेको र बाढी, पहिरो र आगलागीले पनि नेपालमा ठूलो क्षति पुर्याएको जानकारी दिदै मुख्यमन्त्री महाराले संयुक्त राष्ट्र संघसँग सहकार्यको अपेक्षा रहेको बताए ।
नेपालमा ग्रामीण क्षेत्रबाट शहरमा मानिसहरूको बसाइसराई तीव्र रुपमा हुने गरेकाले लुम्बिनी प्रदेशका १०९ पालिकामा वातावरणमैत्री, हरियाली १०९ वटा आधुनिक शहरको योजना निर्माण गरी कामहरू अगाडि बढाउने प्रक्रियामा लुम्बिनी प्रदेश सरकार रहेकाले संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न चाहेको धारणा राखे ।
लुम्बिनी प्रदेशको मानव विकास र भौतिक पूर्वाधारको क्षेत्रमा प्रदेश सरकारले थालनी गरेको बताउँदै मुख्यमन्त्री महाराले जनताको आयआर्जन र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रमहरू निर्माण गरिएको बताए ।
भेटघाट कार्यक्रममा संयुक्त राष्ट्र संघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीले संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा नेपाली सैनिकहरूको मुल्यांकन उच्च रहेको भन्दै नेपाली महिला सैनिकहरूको सहभागीतामा १ नम्बरमा रहेको बताइन् । उनले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्तकमैया र सुकुम्बासीका विषयमा नेपालको संविधान विश्वमा उत्कृष्ट रहेको भन्दै उनीहरूको जीवनस्तर माथि उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव मुख्यमन्त्री महरालाई दिइन् ।
संविधानको मर्मअनुसार भूमि आयोगले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्तकमैया र सुकुम्बासीका पक्षमा काम गरोस् भन्ने पक्षमा संयुक्त राष्ट्र संघ रहेको हेम्डीले बताइन ।
अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा नेपालले प्रशंसायोग्य प्रगति गरेको भन्दै संयुक्त राष्ट्र संघका आवासीय संयोजक हेम्डीले विकासका लागि वित्तीय परिचालन, जलवायु, सुशासन र सामाजिक सेवामा क्षमता अभिवृद्धि गर्नमा संयुक्त राष्ट्र संघका एजेन्सीहरूले नेपाललाई सहयोग गर्ने जानकारी दिइन् ।
लुम्बिनी प्रदेशको साँस्कृतिक धरोहरको रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्र संघको प्राथमिकतामा रहेको भन्दै हेम्डीले विश्व सम्पदा सूचीमा सूचस्कृत भएको लुम्बिनीलाई जोगाउन सबैको सहकार्यको आवश्यकता रहेको बताइन् ।
भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकाल र प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij