२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मेउडिहवा आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

शुक्रवार , आषाढ १, २०८१

भैरहवा, ३२ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । प्रकृति संरक्षण नेपाल सिद्धार्थनगर, रुपन्देहीको आर्थिक सहयोग तथा २ नम्बर वडा कार्यालयको आयोजनामा शैक्षिक सामग्री वितरण गरिएको हो । बिहीबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, प्रकृति संरक्षण नेपालकी अध्यक्ष प्रकृति उप्रेतीलगायतले विद्यालयकी प्रधानाध्यापक आशा थापालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

IMG_3813.JPG

कार्यक्रममा बोल्दै नगरप्रमुख इश्तियाक अहमद खाँले विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरेको भन्दै प्रकृति संरक्षण नेपाललाई धन्यवाद दिए । उनले भने, ‘यो युग आईटीको युग हो । विद्यार्थीहरुले विद्यालयबाट नै कम्प्युटर सिक्न जरुरी छ । अभिभावकले आफ्ना बालबालिकाको विशेष ख्याल राख्नुपर्छ । ’उनले विद्यार्थीहरुलाई मिहिनेतका साथ पढ्न र सरसफाईमा ध्यान दिन आग्रह गरे ।

त्यस्तै सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले विद्यालयलाई शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यार्थीहरुको हौसला बढेको बताए । उनले विद्यालयमा अधुरा भवनलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।

प्रकृति संरक्षण नेपालकी अध्यक्ष प्रकृति उप्रेतीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् । उनले सिद्धार्थनगर नगरपालिकाले शिक्षा क्षेत्रमा बढी बजेट विनियोजन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘भौतिक पूर्वाधार बन्छ । भत्किन्छ । फेरी बन्छ । तर, शिक्षा लगानी गर्दा धेरै ठूलो योगदान पुग्छ ।’

विद्यालयकी प्रधानाध्यापक आशा थापाले भनिन्, ‘यो कार्यक्रम हाम्रो लागि खुसी र गर्वको कुरा हो । विद्यालय परिवारकोतर्फबाट धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि सहयोगको अपेक्षा छ । ’

सिद्धार्थनगर–१३ की वडा सदस्य निलु श्रीसले यसअघि पनि प्रकृति संरक्षण नेपालले मेउडिहवा आधारभूत विद्यालयमा कार्यक्रम गरेको बताइन् । उनले शैक्षिक सामग्रीको सदुपयोग गर्न आग्रह गरिन् । प्रकृति संरक्षण नेपालकी सदस्य भावना लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।