२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नवलपुरको माहोल तनावग्रस्त, नगरप्रमुख भुसालको घरमा तोडफोड

शुक्रवार , आषाढ १, २०८१

नवलपुर , ३२ जेठ । पूर्वी नवलपरासीको नवलपुर कावासोतीमा नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगरप्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नारावाजी गर्दै नगरपालिका र नीजि निवासमा तोडफोड गरेका छन् ।

उनीहरुले नगरपालिकाको लापरवाहीले पुरिएर तीन जनाको मृत्यु भएको भन्दै नगरप्रमुख भुसालको राजीनामा माग्दै ढुंगामुढा र तोडफोड गरेका हुन् । नगरपालिका नजिकै जिल्ला प्रहरी कार्यालय रहेपनि घटनास्थलमा प्रहरी आउन ढिला हुँदा पालिकामा ठूलो क्षति पुगेको छ ।

स्थानीय र मृतकका आफन्तले नगरप्रमुख भुसालको घरमा पनि तोडफोड गरेका छन् । उनीहरुले बिहीवार रातीसम्म पनि भुसालको घर घेराउ गरेका थिए । हिजो घर घेराउ गर्दै नारावाजी गरिरहेकाहरुलाई प्रहरीले तितरवितर पारेपनि आज विहानैदेखि उनीहरुले नगरपालिका कार्यालय र नगर प्रमुखको घरमा ढुंगामुढा गरेका हुन् ।

पीडितपक्ष वार्ता गर्न भनेर नगरपालिका गएपनि नगरप्रमुख भुसाल अनुपस्थित भएपछि पीडित थप आक्रोसित भएका हुन् । नाला खन्ने क्रममा पुरिएर हिजो कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र २३ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो । मृतक तीनै जनाको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।
कावासोती फलफूलचोकदेखि पूर्वतर्फ ११ फिट गहिरो नाला निर्माणको काम भइरहेको छ । उक्त नाला निर्माण गर्ने क्रममा डोजरले खन्ने र मजदुरले भुँईमा ढुंगा सोलिङको काम गरिरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा पुरिएर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नगरपालिकाले शहरी विकास मन्त्रालयको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको लागि श्रममूलक आयोजना सञ्चालन गर्ने सर्तमा प्राप्त गरेको ७ करोड ४२ लाख मध्ये वडा नं। २ को ढललाई व्यवस्थापन गर्नका लागि ४२ लाख ६० हजार रुपियाँ विनियोजन गरी उपभोक्ता समिति मार्फत काम गराएको हो ।