
शुक्रवार , आषाढ १, २०८१
रुपन्देही, ३२ जेठ ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुक्रबार बुटवलमा भएको सपथग्रहण कार्यक्रममा बोल्दै पौडेलले अब सबै नेता–कार्यकर्ताहरु विकाससँग जोडिदै जानुपर्ने बताएका हुन् ।
‘अब विकास र राजनीतिलाई जोडेर लैजानुपर्छ, जनताको जीवनसँग जोडिएर राजनीतिलाई अगाडि बढाऔं, विकास र समृद्धिलाई जोडेर मात्रै अबको राजनीति सम्भव छ भनेर बुझौं, एमालेले यसमा नायकको भूमिका देखाउनुपर्छ, जहाँ समस्या त्यहाँ एमाले भनेर जनतालाई अनुभूत गराउनुपर्छ’ नेता पौडेलले नेता कार्यकर्तालाई निर्देशनसहित आग्रह गरेका थिए ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले गुण र दोष दुवै थाहा पाएका आफ्नै नेतालाई एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्ससात गरेर कमिटीलाई चलायमान बनाउन कार्यकर्तालाई सुझाव दिए ।
‘रुपन्देहीको पार्टी पंक्तिलाई प्रभावकारी परिचालन गर्ने, विकास निर्माणका काममा निगरानी र खबरदारी गर्ने, फराकिला सम्भावनालाई साकार पार्ने, आन्तरिक एकतालाई बलियो बनाउने, संगठनलाई सुदृढ, गतिशील र अनुशासित बनाउने, चेतना र चिन्ताका हिसाबले अग्रणी बनाउने, गुणस्तरीय संगठन, नेता–कार्यकर्ता रहेको पार्टी बनाउने जिम्मेवारी नयाँ कार्यसमितिको काधमा आएको छ ।’ उपाध्यक्ष पौडेलले भने ।
उनले नवनिर्वाचित कार्यसमितिलाई एकताबद्ध भएर काम गर्न पनि निर्देशन दिँदै अधिवेशनले पार्टीको जीवनमा नयाँ जोश सञ्चार गरेको जनाए । ‘पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन अब अग्रगति र प्रगति हुनेछ, रुपन्देहीमा एमालेको कोहीसँग प्रतिष्पर्धा हुँदैन तर त्यो भनेर योजनाबिहीन तरिकाले समय बिताउनुहुँदैन ।’ नेता पौडेलले भने ।
एमाले पोलिटब्युरो सदस्य लिला गिरीले एमालेका नेता–कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गिरीले पार्टीका हरेक कार्यकर्ता उत्पादनसँग जोडिदै राजनीतिमा क्रियाशील हुनुपर्ने र रुपन्देहीलाई नेपालमै नमूना बनाउनुपर्ने सुझाए ।
पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीलाई जीवन्त बनाउन हरेक कमिटी चलायमान बनाउनुपर्ने र त्यो जिम्मेवारी जिल्ला कमिटीले पूरा गर्नुपर्ने बताए ।
एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले अबको नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने सुझाव राख्दै सबै तहका कमिटीलाई सक्रियतापूर्वक जिम्मेवारीमा लगाउन आग्रह गरे ।
पार्टीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए । गत जेठ २३ देखि २५ गतेसम्म भएको अधिवेशनबाट रुपन्देहीमा सबै पद सर्वसम्मत निर्वाचित भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij