
शनिवार , आषाढ २, २०८१
भैरहवा, १ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारालाई साकार पार्न प्रतिवद्ध रहेको बताएका छन् । मगर समुदायले परम्परादेखि विशेष पर्वको रुपका मनाउँदै आएको भूमे पर्व (भुम्या पर्व) २०८१ को अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको उनको भनाइ छ ।
उनले भने, ‘परापूर्वकालदेखि प्रकृतिपूजक मगरहरूले कुनै पनि मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमिपूजा प्रकृतिको पूजा गरी भूमे पर्वको सुरुवात गरेको पाइन्छ । ’
‘अठार मगरात क्षेत्रमा बसोवास गर्ने मगरहरूले हर्षोल्लासका साथ हरेक वर्ष असार १ गतेदेखि हप्ता दिनसम्म धुमधामका साथ मनाउने यो पर्वले सबै नेपालीहरूमा सकारात्मक साँचको विकास गरी भ्रातृत्व, एकता, सदभाव र मेलमिलापको वातावरण सृजना गरी देश निर्माणमा टेवा पुर्याउने विश्वास लिएको छु, ’शुभकामना सन्देशमा उल्लेख छ ।
त्यस्तै सन्देशमा ‘सन्तुलित विकासको अवधारणामा लुम्बिनी प्रदेशवबसीहरुको सुखद जीवनस्तर बनाउन प्रदेश सरकारले लिएको ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को नारालाई साकार पार्न प्रतिवद्ध छौं, ’भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij