२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सय दिनमा असल कार्यको आधार बनाउन सफल भयौं : रवि लामिछाने

शनिवार , आषाढ २, २०८१

काठमाडौं, १ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा बसेको १ सय दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका छन् । पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा बसेर धेरै राम्रो काम नगरे पनि नराम्रो नगरेको भन्दै १ सय दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका हुन् ।

उनले पार्टीले सम्हालेको चारवटा मन्त्रालयमा रहेर कुनै लाभको काम नगरेको र कुनै खराब वा बेथितिको काम समेत नगरेको धारणा राखे । गृह मन्त्रालयमा सरुवा बढुवामा हुने पैसाको चलखेल रोखिएको र संगठनको इज्जत राख्ने गरी काम गरेको उनले बताए ।

लामिछानले कमीकमजोरीलाई सुधारेर २०८४ सम्म परिपक्व बन्ने उल्लेख गरे । उनले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एकढिक्का भएर अघि बढ्न आह्वान गरे ।  साथै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिए ।

त्यस्तै  उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थान विन्दु बनेको बताए । दोश्रो बार्षिकोत्सवसम्म आउँदा नेपाली राजनीतिमा धक्का दिएको पार्टीलाई २०८४ सालसम्म बलियो बनाउँदै अघि बढाउनुपर्ने उनले बताए । उनले तयारीका साथ सबैलाई मिलाएर असल शासनमा ध्यान केन्द्रीत गरेको उल्लेख गरे ।

त्यस्तै रास्वपा नेता एवं खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक बेथिति विकृतिलाई अन्त्य गर्नका लागि सवै जुट्नुपर्ने बताए । पार्टी सरकारमा गएपछि शासकीय बेथितिलाई नियन्त्रण गर्न पनि ध्यान केन्द्रीत गरेको उनले बताए । श्रेष्ठले अनावश्यक, अनाधिकृत ढंगले कुनै सम्झौता गर्नुपरे सरकारबाट बाहिरिने भन्दै राजीनामा तयार रहेको धारणा राखे । उनले सरकारमा सहभागीताका विषयमा पार्टीमा समीक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।