२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दक्ष जनशक्तिको सरकारी सेवा प्रवेश अहिलेको आवश्यकता : उपराष्ट्रपति यादव

शनिवार , आषाढ २, २०८१

काठमाडौं, १ असार ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशाको केन्द्रको रुपमा काम गर्न लोकसेवा आयोगलाई सुझाव दिएका छन् ।

लोकसेवा आयोगको वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले दक्ष, सक्षम र उत्कृष्ट जनशक्तिको सरकारी सेवा प्रवेश अहिलेको आवश्यकता भएको भन्दै वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशाको केन्द्रको रुपमा काम गर्न सुझाव दिएका हुन् । सबै खालका परिवर्तनलाई आवश्यकता अनुसार व्यवस्थापन गर्दै कर्मचारीको छनौटमा आयोगले विशेष ध्यान दिनुपर्ने उनले बताए ।

उनले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भएकाले गलत भर्ना नीति र भर्नाले प्रशासनिक संगठनमा स्थायी खराबी प्रवेश गर्न सक्नेतर्फ आयोग सदैव सचेत हुन जरुरी रहेको बताए । 

आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशीता, परिचय शून्यता, असंलग्नता तथा गोपनीयताको सिद्धान्तअनुसार कार्यसम्पादन गर्नु प्रशंसनीय रहेको भन्दै उनले यसलाई निरन्तरता राख्न जरुरी रहेको धारणा राखे । मुलुकमा संघीयता कायम भइसकेपछि समावेशी सहभागीतालाई समयसापेक्ष परिस्कृत गर्र्दै आयोग अघि बढ्नुपर्ने उनको भनाइ छ ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सार्वजनिक निकायका कर्मचारी भर्ना र छनोटमा योग्यता प्रणाली स्थापित गर्न लोकसेवा आयोग अग्रणी संस्थाका रूपमा स्थापित भएको बताए । उत्तरपुस्तिका परीक्षणलाई थप विश्वसनीय बनाउन दुई जना विज्ञबाट अलगअलग परीक्षण गर्ने व्यवस्था गरिएको उनले बताए । उनले पाठ्यक्रम र परीक्षण पद्दतिमा सुधारका लागि आयोगका सदस्यको अध्यक्षतामा परीक्षण प्रविधि सुधार सुझाव समिति गठन गरी अध्ययनको कार्य भइरहेको जानकारी दिए ।

कार्यक्रममा आयोगका पूर्व सदस्य भीमदेव भट्टलाई विशेष सम्मान प्रदान गरिएको थियो भने उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।