
आइतवार , आषाढ ३, २०८१
भैरहवा, २ असार । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । संविधान सभा सदस्य कमलेश्वर पुरी गोस्वामीले आफ्नो जग्गासँग सटेको १५ कठ्ठा बढी जग्गा अतिक्रमण गरेको पाइएको हो ।
गोस्वामीले १५ कठ्ठा बढी जग्गा अतिक्रमण गरेर भोगचलन गर्दै आएको पाइएपछि उनीविरुद्ध गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको थियो । गोस्वामीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मसिनामा रहेको आफ्नो जग्गासँग सटेको १५ कठ्ठा बढी जग्गा अतिक्रमण गरी तारबार गरेका छन् ।
सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गरी प्रयोग गरेको भन्ने उजुरीका आधारमा छानबीन गर्दा गोस्वामीले जग्गा अतिक्रमण गरी तारवार गरेर भोगचलन गरेको पुष्टि भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
प्रजिअ अर्यालका अनुसार गोस्वामीले आफ्नो जग्गा चर्चिने क्रममा १५ कठ्ठा बढी जग्गा कब्जा गरिएको पाइएको हो । सो विषयमा गोस्वामीले बयानका क्रममा सार्वजनिक जग्गा मिचिएको र आफूले तारबार हटाउने बताएका थिए । तर, जिल्ला प्रशासन कार्यालयले दिएको म्याद भित्र सार्वजनिक जग्गामा घेरिएको तारवबर नहटेपछि प्रहरीको सहायतामा डोजर चलाइएको प्रजिअ अर्यालको भनाइ छ ।
गोस्वामीले रुपन्देहीको साविक मसिना ६ (ख) को कित्ता नम्बर ३१६ र ४०३ सँग जोडिएको सार्वजनिक जग्गा अतिक्रमण गरेका थिए । कित्ता नम्बर ४०३ सँग जोडिएको सार्वजनिक जग्गामा दक्षिणतर्फ जाने बाटोको प्रवेशद्वारमा तारजाली लगाएर बाटो बन्द गरिएको थियो ।
त्यस्तै उक्त कित्तासँगै जोडिएको पोखरी पनि सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भेट्टिएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका अमिन सागर बेवारे बिकले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय रुपन्देही, नापी कार्यालय, मालपोत कार्यालय र लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्राविधिक टोलिले जग्गाको नापजाँच गरी जग्गा अतिक्रमण भएको प्रतिवेदन आएपछि उक्त जग्गामा डोजर चलाइएको छ ।
अतिक्रमणमा परेको जग्गाको तारबार हटाउने सम्बन्धमा गोस्वामी परिवारले कुनै काम नगरेपछि डोजर चलाएर जग्गा संरक्षणमा जुटेको रुपन्देही प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अगुवाइमा कब्जा गरिएको सार्वजनिक जग्गामा डोजर चलेपछि सार्वजनिक जग्गालाई छुट्टाएर आफ्नो जग्गामा मात्र तारबार लगाईने गोस्वामीका आफन्त प्रमोदपुरी गोस्वामीले जानकारी दिए । उनले अतिक्रमण गरिएको जग्गामा गोस्वामी परिवारले कुनै संरचना खडा नगरेको बताउँदै सार्वजनिक जग्गा संरक्षणका लागि जग्गामा तारबार लगाइएको बताए ।
संविधानसभा सदस्य गोस्वामीले जस्तै त्यस क्षेत्रमा थुप्रै जनाले सार्वजनिक जग्गा हडपेको स्थानीयको आरोप छ । सम्बन्धीत सरोकारवाला निकायले सार्वजनिक जग्गाको खोजी गरी संरक्षण गर्नुपर्ने देखिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij