
आइतवार , आषाढ ३, २०८१
भैरहवा, २ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले भुमे पर्वले पुरानो परम्परा, संस्कार र संस्कृतिको जर्गेना गर्दै आएको बताएका छन् । उनले परम्पराको रक्षा, संरक्षण र सम्बर्धन गर्ने कार्यमा समुदायहरुले खेलेका भूमिका पनि प्रसंशायोग्य रहेको उल्लेख गरे । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ७ स्थित जेलबाङमा भूमे पर्वको अवसरका भएको भूम्या राम–२०८१ को कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले पुरानो संस्कारले मानव जीवनलाई आनन्द दिने गरेको बताए ।
असार १ गतेदेखि ३ गते रोल्पा, प्युठान, रुकुम, दाङ लगायतका जिल्लामा मनाउने भूमे पर्व वर्षायाममा सुरु हुने भएकोले यो कृषिसँग सम्बन्धित रहेको मुख्यमन्त्री महराको बताए । प्रकृति पुजकहरुले मनाउने यो पर्वलाई अझ सभ्य र भव्य रुपमा पुस्तान्तरण गर्नुपर्ने उनले सुझाव दिए ।
लुम्बिनी प्रदेश सरकारले ‘ब्याक टु कल्चर’ र ‘व्याक टु नेचर’ भन्ने नारा दिएर पुरानो परम्पराको संरक्षण गर्न खोजेको भन्दै मुख्यमन्त्री महराले पुराना संस्कारको जर्गेना र वातावरणको संरक्षणमा आफूहरुले जोड दिएको जानकारी दिए ।
अहिले हामीलाई स्वच्छ हावा, सफा पानी, अर्गानिक स्वस्थकर खाना र सकारात्मक मार्गसहितको जीवन चाहिएको छ । उनले भने, ‘यसका लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरेको छ ।’ मानिसहरु एकआपसमा भेटघाट गर्ने, दुःख, सुख साटासाट गर्ने र पुराना पुस्ताहरुसँग अनुभवहरु सिक्ने अवसर चाडपर्वहरुले दिने भएकाले भूमे पर्व जस्ता मेला पर्व नयाँ पुस्ताका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ ।
आफ्नो निर्वाचन क्षेत्र रोल्पाको जेलवाङमा पुगेर मुख्यमन्त्री महराले लुम्बिनी प्रदेशको विकास तथा रोल्पा जिल्लाको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले विनियोजन गरेका बजेटहरु सहिरुपमा सदुपयोग गर्न नागरिकलाई आग्रह गरे ।
उनले जनयुद्धमा सवैभन्दा धेरै जनाले बलिदान दिएको क्षेत्र जेलवाङ भएकाले नेपालको परिवर्तनमा जेलवाङलाई बिर्सन नसकिने बताए । मुख्यमन्त्री महराले शहर र गाउँको अन्तर विरोध हल गर्न र हिमाल, पहाड, तराईलाई सन्तुलित विकासमा अगाडि बढाउन आवश्यक रहेको भन्दै जनसहभागीताले मात्र सम्भव रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij